aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

खाद्यान्न निर्यात सम्झौतामा पुटिनलाई मनाउने एर्दोगानको प्रयास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ साउन २०८०
खाद्यान्न निर्यात सम्झौतामा पुटिनलाई मनाउने एर्दोगानको प्रयास

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘ब्ल्याक सी’हुँदै युक्रेनी खाद्यान्न निर्यातसम्बन्धी सम्झौतामा पुन: सामेल हुन सहमत गराउन चाहेको बताएका छन्‌।

‘मलाई लाग्छ रूसी नेता पुटिनसँग विस्तृत कुराकानी गरेर मानवीय करिडोरको निरन्तरता सुनिश्चित गर्न सक्षम हुनेछौं,’ एर्दोगानलाई उद्धृत गर्दै  टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले लेखेको छ ।

टर्की र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा जुलाई २०२२ मा इस्तानबुलमा युक्रेनसँग भएको सम्झौताको विस्तारको विरोध गरेपछि उनले यस विषयमा पुटिनसँग कुरा गर्ने बताएका थिए । 

रूसले युक्रेनी बन्दरगाहबाट करिब तीन करोड ३० लाख टन खाद्यान्न निर्यात गर्न अनुमति दिने सम्झौतामा फर्कन तयार रहेको बताएको छ । तर उसले पश्चिमा प्रतिबन्धका कारण कृषि उत्पादन र मलको आपूर्तिमा बाधा पुगेको बताएको छ । 

यदि रूसी राष्ट्रपतिको अर्को महिना हुने भनिएको इस्तानबुल भ्रमण भएमा दुवै नेताले टर्कीमा अगस्टमा खाद्यान्न सम्झौताबारे आमनेसामने छलफल गर्नेछन् ।  

संयुक्त राष्ट्रसङ्घले गहुँ र मकैको विश्वव्यापी मूल्यमा परेको नकारात्मक प्रभावप्रति चिन्ता व्यक्त गरेको छ । सम्झौता अन्त्य भएको घोषणाले विश्व समुदायलाई चोट पुर्‍याएको छ । 

टर्कीले ‘स्वीडेनले चालेका कदमअनुसार कदम चाल्ने’ पनि एर्दोगानले बताएका छन्‌, जसले नेटोमा स्वीडेनको सदस्यताका लागि मार्ग प्रशस्त गरेको छ । 

यसै महिनाको सुरुमा टर्कीका राष्ट्रपतिले अक्टोबरमा सांसदहरू ग्रीष्मकालीन बिदाबाट जतिसक्दो चाँडो फर्केपछि नेटोमा स्वीडेनको प्रवेशमाथिको भिटो हटाएर टर्कीको संसदले सदस्यता अनुमोदन गर्ने पनि उल्लेख गरेका छन्‌ ।

प्रतिक्रिया दिनुहोस