aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जुम्लामा नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छः साल्ट ट्रेडिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ साउन २०८०
जुम्लामा नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छः साल्ट ट्रेडिङ

काठमाडौं । जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।   

सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ  । कार्यालय प्रमुख  प्रमुख मल्लले भने, “जिल्लामा नुनको अभाव हुने छैन । अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने  छ । वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ ।”

गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपझोक्तालाई नुन वितरण भइरहेको समयमा केही  व्यक्तिले भाडँभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए । गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा  सदरमुकाम डिपोमा नागरिकको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ । गत आव २०७९/०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार दुई सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ । यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए ।

तिला गाउँपालिका नौवटै वडामा नुन ल्याउनका लागि कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडावाटै नुन वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए । वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला–१ का वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस