काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालमा ठूलो आर्थिक अनियमितता भइरहेको छ । अस्पतालमा प्रमुख कार्यकारी अधिकृत र प्रमुख वित्तीय अधिकृत (सीएफओ) नै नगरी त्यहाँ अनियमितताको लागि अनुकूल वातावरण बनाइएको समाचार स्रोतको दाबी छ ।
अस्पताल सम्बद्ध स्रोतका अनुसार सो अस्पतालमा विगत ३ वर्षदेखि लेखा तथा वित्त शाखामा प्रमुख नै छैनन् । प्रमुख कार्यकारी अधिकृत र प्रमुख एकाउन्टेन्ट नियुक्त नै नगरी अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. गोपाल पोख्रेलले आर्थिक रुपमा हिनामिना गर्न सक्ने गरी तारतम्य मिलेको भन्दै त्यहाँका कर्मचारी दुखेसो व्यक्त गर्ने गर्छन् ।
अध्यक्ष पोख्रेललाई महासचिव मेघराज गजुरेलको पनि साथ रहेको उनीहरूको भनाई रहेको छ । त्यहाँ हुने आर्थिक अनियमितताको नाइकेको रुपमा प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारीलाई कर्मचारीहरू व्याख्या गर्छन् । उनी समेत मतियार बन्दा हाल अस्पतालमा चालु अवस्थामा रहेको एक विदेशी प्रोजेक्ट अन्तर्गत आँखाको उपचार गराइएको भन्दै विभिन्न व्यक्तिको नाममा फर्जी बिला तयार हुने गरेको कर्मचारीहरू बताउँछन् ।
नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने, 'मान्छेको उपचार भए कै हुँदैन तर सबै खर्चको बिल बन्छ । अनि भुक्तानी लिन्छन् । माथिका टाउकेहरू मिलेर खान्छन् ।' उनको थप चिन्ता छ, 'यसरी हाकाहाकी ठगेको विदेशीले थाहा पाए भने के होला हाम्रो इज्जत ?'
समाचार स्रोतका अनुसार फर्जी बिल र आर्थिक अनियमितताको आवाज सो अस्पतालमा पटक पटक उठ्ने गरेको छ । छानबिन समिति पनि बन्ने तर घटना त्यसै सामसुम पार्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस