aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सुन तस्करीका अनेक काइदा, खुल्दैछन् रोचक तथ्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ साउन २०८०
सुन तस्करीका अनेक काइदा, खुल्दैछन् रोचक तथ्य

काठमाडौँ । सुन तस्करी प्रकरणमा नयाँ र रोचक तथ्यहरू बाहिर आइरहेका छन् । अनुसन्धानका क्रममा फेला परेका यस्ता तथ्यहरूले तस्करहरूले कसरी कानुनी छिद्र प्रयोग गरेर गैर कानुनी आयात गर्छन् भन्ने समेत खुलासा गरेको छ ।

पछिल्लो प्रकरणमै पनि ५०० अमेरिकी डलर भन्दा कमको प्रज्ञापनपत्र भरेर प्रक्रिया पूरा गर्ने बाटो समातिएको देखिएको छ । भन्सार विभागका प्रमहानिर्देशक शोभाकान्त पौडेलका अनुसार मोटरसाइकलको ब्रेक-सु भित्र्याउन जम्मा ४८० अमेरिकी डलरको मात्र प्रज्ञापनपत्र भरेर बुझाएको पाइएको छ ।

‘यसरी निर्धारित ५०० अमेरिकी डलरभन्दा कमको भुक्तानीमा खासै राज्यले चासो राख्ने नगरेको र त्यस्तो आयात कसैको आँखामा नपर्ने भएकोले तस्करहरूले यस्तो विधि अपनाउने गरेको देखिन्छु,’ महानिर्देशक पौडेल भन्छन्, ‘एक क्विन्टल भन्दा बढी सुन आयात गर्दा जम्मा भुक्तानी भने १ लाख ७३ हजार मात्र भएको सरकारी आँकडाले देखाउँछ ।’

अनुसन्धानका क्रममा यसरी ५०० डलरभन्दा कम रकमको प्रज्ञापनपत्र भरेर हालैमात्र २० पटक जति विभिन्न बस्तु आयात गरिएको देखिएको भन्सार विभागका पौडेलले बताए । उनका अनुसार तस्करले त्यो कानुनी लचकताको दुरुपयोग गरेको देखिएको हो ।

सामान्य नागरिकको नाममा कम्पनी खोली लगातार ठूलो कारोबार गर्ने गरेको देखिएबाट तस्करहरूले कानुनका सबै छिद्रको प्रयोग गर्दै आएको देखिन्छ ।

तस्करले कसरी आयातित बस्तुभित्र सुन लुकाउँदा रहेछन् भन्ने पनि थाहा भएको पौडेलले जानकारी दिए । ‘सुन तस्करी गर्दा जे बस्तुको नाममा आयात गरिएको हो-हरेक कार्टुनमा माथिल्लो भागमा १०/१२ वटा त्यही बस्तु राख्ने र त्यसमुनि सुन भरिएका बस्तु राख्ने गरेको देखिएको छ,’ उनले भने ।

भन्सारका कर्मचारीले पनि माथिका केही बस्तुमात्र हेरेर कार्टुनको जाँच पास गरिएको छाप लगाइदिने गर्दा तस्करलाई सहज भएको पौडेलले बताए । ‘हाम्रा भन्सारका कर्मचारीले पनि माथिका दुई/चारवटा हेर्ने र अरू त्यतिकै छाड्ने गर्दा रहेछन् । त्यसो हुँदा तस्करलाई सजिलो भएको देखिन्छ,’ पौडेलले आर्थिकन्यूजसँग भने ।

हालैको प्रकरणमा पनि मोटर साइकलको जम्मा १५४ वटा स्पेयर पार्टसमध्ये ५४ वटा सक्कली र सुन रहित भेटिएका छन् भने बाँकी १०० वटामा चाहिँ सुन राखिएको थियो । थप अनुसन्धानका क्रममा फेला परेका अरू ६० वटाको हकमा भने हाल राजश्व अनुसन्धानले परीक्षण गरिरहेको हुनाले के-कस्तो देखिन्छ, त्यसबारे अहिले नै आफू केही बोल्न नसक्ने पौडेलले बताए ।

स्मरण रहोस् : केही महिना अघिमात्र दर्ता भएका रेडी ट्रेड प्रालि र दोलखा ट्रेडर्सको नामबाट ब्रेक-सु को नाममा सुन भित्र्याइएको देखिएको छ । ती कम्पनीहरू समेत सामान्य नागरिकको नाममा कम्पनी खोली लगातार ठूलो कारोबार गर्ने गरेको देखिएबाट तस्करहरूले कानुनका सबै छिद्रको प्रयोग गर्दै आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस