aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रश्रित प्रतिष्ठान नेपालको साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ साउन २०८०
प्रश्रित प्रतिष्ठान नेपालको साधारण सभा सम्पन्न

भैरहवा  । प्रश्रित प्रतिष्ठान नेपालको एघारौं साधारणसभा प्रतिवेदन पारित गर्नुका साथै कृति लोकार्पण तथा रचनावाचन कार्यक्रम गरी शनिबार सम्पन्न भएको छ  ।प्रतिष्ठानका अध्यक्ष प्रा.डा. कपिल लामिछानेको अध्यक्षतामा सम्पन्न  सो कार्यक्रममा साहित्यकार रुद्र ज्ञवालीको नवीनतम कविता कृति ’सीमान्त स्वर’को नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडा र अन्य साहित्यकारहरुबाट लोकार्पण गरिएको छ । ज्ञवाली वर्तमान समयका एक सशक्त साहित्यकार हुन ।

 उनका कथा, मुक्तक, गजल र बालकथाका सङ्ग्रहहरू प्रकाशित भइसकेका छन्। ’सीमान्त स्वर’मा उनका बेजोड छन्द  कविताहरू रहेका छन् । सो कृतिको प्रा.डा. हिरण्यलाल ज्ञवाली र वनमाली निराकारले समीक्षा गर्दै यसलाई नेपाली कविताको इतिहासमा एउटा महत्त्वपूर्ण प्राप्ति भएको बताउनुभयो । अन्य वक्ताहरू प्रा.डा. भीम खतिवडा, प्रा.डा.कपिल लामिछाने, विजय सागर, हरिप्रसाद भण्डारी आदिले ज्ञवालीको खारिएको कलमबाट सिर्जना भएकोले यस सङ्ग्रहका कवितामा माटो र मुटुलाई केन्द्रमा राखिएको र यो पठनीय भएको बताए ।
प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा. गितु गिरी, साहित्यकार  मदनलाल पौड्याल, रोटरियन भोजेन्द्रबहादुर खत्री र संविधानसभा सदस्य आदित्यनारायण कसोधनले प्रतिष्ठानका क्रियाकलापबाट भाषा र साहित्यको उत्थानका साथै सङ्घर्षशील जीवित व्यक्तित्व मोदनाथ प्रश्रितका योगदानको कदर भएको प्रस्ट पारे ।

सो कार्यक्रममा यसअघि प्रतिष्ठानका महासचिव डा. शालिकराम पौड्याल र कोषाध्यक्ष रामबहादुर श्रेष्ठबाट प्रस्तुत प्रतिवेदनहरु सभाबाट सर्वसम्मतिले पारित गरिएको थियो ।
सो अवसरमा कविहरु भीम खतिवडा, बुँद राना, रुद्र ज्ञवाली, रामप्रसाद अर्याल, रमेश समर्थन, सरु ज्ञवाली, यज्ञलाल सुवेदी, सिर्जना खनाल, तिलक लामिछाने, राधा भट्टराई, गङ्गा घिमिरे, डा. लक्ष्मी पोखरेल, राजेन्द्र आचार्य, सीता काफ्ले, युवराज शर्मा खनाल, दुर्गा पौड्याल, सोनु गुरुङ, सीताराम  घिमिरे, नारायणप्रसाद भण्डारी आदिले रचना वाचन गर्नुभएको थियोे ।

प्रमुख अतिथि खतिवडाले कवितामय मन्तव्य राख्दै प्रश्रित प्रतिष्ठान नेपालले आफैं स्रोत साधनको जोहो गर्दै साहित्यिक सामाजिक क्रियाकलाप गर्नु सराहनीय भएको बताउनुभयो । सो कार्यक्रममा असीभन्दा बढी साहित्य स्रष्टाको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस