aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ईपीएसको भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • सोमबार, ०८ साउन २०८०
ईपीएसको भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी

काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको हो । यसबारे कोरियाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई लिखित जानकारीसमेत दिएको छ ।

ईपीएस सेन्टर नेपालका प्रमुख किमउन दकद्वारा आइतबार जारी विज्ञप्तिमा रोजगार अनुमति प्रणाली १६ वटै मुलुकका लागि समान र पारदर्शी रूपमा लागू भइरहेको र नेपालका लागि विशेष व्यवस्था हुन नसक्ने स्पष्ट पारिएको छ । ‘कोरियामा छिर्ने नेपाली श्रमिकको संख्या ठूलो छ, १६ वटा राष्ट्रमध्ये नेपाल उत्कृष्ट उदाहरण पनि बनेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘रिटर्नीहरूको विरोधका कारण परीक्षा र कोरिया प्रवेशमा असर परे परीक्षा तयारी गर्दै गरेका धेरै युवाले अवसर गुमाउनेछन् ।’

ईपीएस सेन्टर नेपालका प्रमुख दकले कोरियाली रोजगारदाताले पारिश्रमिक दिने भएकाले विदेशी श्रमिक छनोटमा उनीहरूकै राय सबैभन्दा महत्त्वपूर्ण हुने बताए । ‘रिटर्नीहरूलाई जबर्जस्ती छनोट गर्न लगाउन सकिँदैन । रोस्टरमा भएका श्रमिक नसकुन्जेल परीक्षा स्थगित गराएर सायद केही रिटर्नी कोरिया जान पाउलान् तर रोजगारदाताले चाहेको श्रमिक रोस्टरमा नभए अरू राष्ट्रबाट छनोट गर्न सक्छन् भन्ने विषयलाई ध्यानमा राख्नुपर्छ,’ उनले भने ।

पछिल्लो समयमा प्रवेश छिटो हुने र काममा इमानदार देखिएकाले कोरियाली रोजगारदाताको रोजाइमा नेपाली श्रमिक पर्दै आएका छन् । तर रोस्टरमा नयाँ श्रमिक नभए उनीहरूले अरू देशका श्रमिक छनोट गर्न सक्छन् । ईपीएस लागू भएयता सबैभन्दा बढी गत आर्थिक वर्षमा २१ हजार ८ सय ७० नेपाली कोरिया गएका छन्, जुन नेपालबाट वैदेशिक रोजगारीमा जानेको ४।४२ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस