aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजनामा रोजगार वृद्धिलाई प्राथमिकता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ साउन २०८०
गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजनामा रोजगार वृद्धिलाई प्राथमिकता

गण्डकी । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी सुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । “पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना निर्माणको तयारीमा जुटेका छौँ”, आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले भने, “पहिलो चरणमा केही स्थानीय तहका प्रमुखसँग छलफल गरिएको छ, प्रदेशका ११ वटै जिल्लामा पुगेर योजनाबारे सुझाव लिन्छौँ ।”

आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकारका मन्त्री, सचिव, विषय विज्ञलगायत सरोकार भएका पक्षसँग छलफल गरेर सुझाव लिने उहाँले बताउनुभयो । यसै वर्ष दोस्रो आवधिक योजना निर्माण भई आउँदो आव २०८१/०८२ बाट कार्यान्वयनमा जानेछ । आव २०७६/०७७ बाट कार्यान्वयनमा आएको पहिलो योजनाको अन्तिम वर्ष भर्खर सुरु भएको छ ।

आयोगका उपाध्यक्ष डा देवकोटाले यथार्थपरक, व्यवहारिक र कार्यान्वयनयोग्य योजना निर्माण गरिने उल्लेख गरे । उनले भने, “यथार्थपरक र प्रदेश सुहाउँदो आवधिक योजना बन्छ, सबै पक्षसँग व्यापक छलफल र अन्तक्र्रिया गरेर योजनाको मस्यौदा  तयार गर्छौं ।” पहिलो योजनामा लक्ष्य हासिल भएका योजनालाई सवलीकरण गर्दै जाने र अपूरा लक्ष्य पूरा गर्ने गरी दोस्रो योजना बनाइने आयोगले जनाएको छ । पर्यटन, कृषि, प्राकृतिक स्रोतसाधनको उपयोग, गुणस्तरीय शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार वृद्धि, विद्युतीय सेवा प्रवाहजस्ता विषयलाई दोस्रो आवधिक योजनामा प्राथमिकता दिइने भएको छ ।

प्रदेश सरकारको ‘आत्मनिर्भर तथा समुन्नत प्रदेश सम्मानित प्रदेशवासी’को रणनीतिक लक्ष्यलाई टेवा पुग्ने गरी आवधिक योजनाको खाका कोरिने आयोगका उपाध्यक्ष डा देवकोटाले बताए । समृद्ध प्रदेशको आधारशिला तयार गर्ने उद्देश्यसहित प्रदेशको पहिलो पञ्चवर्षीय योजना बनेको थियो । पहिलो योजनाले समाजवादोन्मुख, उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र, दिगो ऊर्जा सुरक्षा, कृषिको आधुनिकीकरण, कृषि प्रशोधन तथा खनिज उत्खनन, उद्योगधन्दा स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षा, पर्यटनलगायतका विषयलाई समेटेको थियो । 

पहिलो योजनाले विसं २१०० सम्ममा ‘समृद्ध प्रदेश, सुखी नागरिक’ बनाउने दीर्घकालीन सोच लिएको छ । दीर्घकालीन लक्ष्यमा उच्च उत्पादन, मर्यादित जीवन, समावेशी, सभ्य, न्यायपूर्ण र सुशासनयुक्त आधुनिक समाज भएको समृद्ध प्रदेश बनाउने विषय उल्लेख छ । अठार वटा रणनीति अवलम्बन, सात वटा समृद्धिका सम्वाहक, पाँच वटा सहयोगी क्षेत्र पहिचान, ११ प्रतिशतसम्मको आर्थिक वृद्धि, गरिबीको अन्त्य, प्रदेशवासीको औषत आयु ८२ वर्ष पु¥याउनेलगायत प्रदेशको दीर्घकालीन लक्ष्यमा समेटिएका छन् । 

नवलपुरको हुप्सीकोट गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डेले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले दिगो विकासको आधार तय गर्नुपर्ने बताए । उनले योजना तुर्जमामा तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने उल्लेख गरे । “योजना बनाउँदा नागरिकलाई प्रत्यक्ष छुने र लाभ मिल्ने गरी बनाउनुपर्छ, आवधिक योजना बौद्धिक दस्ताबेज जस्तो नभई कार्यान्वयनयोग्य हुनुपर्छ”, उनले भने, “प्राकृतिक स्रोतको संरक्षण तथा उपयोग र वातावरण संरक्षण जस्ता मुद्दालाई पनि योजनामा समावेश गर्नुपर्छ ।”

पोखरा महानगरको सहरी योजना आयोगका उपाध्यक्ष प्रेम लामिछानेले प्रदेश र समग्र नेपालको अर्थव्यवस्था कस्तो हुने भन्ने विषयलाई आवधिक योजनाले दिशानिर्देश गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले चालु खर्च बढ्दै जानु र पुँजीगत बजेट न्यून हुँदा विकास निर्माणमा असर पुगेको बताए । सङ्घ, प्रदेश र स्थानीय तहलाई संविधानले दिएका साझा तथा एकल अधिकारको प्रयोगका लागि कानुनी र संरचनागत प्रबन्ध नहुँदा सङ्घीयता कार्यान्वयनमा चुनौती थपिएको उपाध्यक्ष लामिछानेको भनाइ थियो ।   

प्रतिक्रिया दिनुहोस