aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हिन्डेनबर्गले डामेका खर्बपति अडानीले अर्को कम्पनी बेचे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ साउन २०८०
हिन्डेनबर्गले डामेका खर्बपति अडानीले अर्को कम्पनी बेचे

एजेन्सी । अमेरिकी हिन्डेनबर्ग रिपोर्टका कारण विश्व आर्थिक मञ्चमा बदनाम भारतीय अर्बपति गौतम अडानीले थप एक कम्पनी पनि बेचेका छन् । अडानीले अमेरिकी कम्पनी बेन क्यापिटललाई हाउजिङ फाइनान्स र अडानी क्यापिटलको ९० प्रतिशत शेयर बिक्री सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अब यो कम्पनीको बाँकी १० प्रतिशत शेयर प्रबन्ध निर्देशक गौरव गुप्तासँगै रहनेछ । अमेरिकी कम्पनी बेनले अडानीले बेचेको कम्पनीमा अब १२ करोड डलर लगानी गर्ने जनाएको छ ।

अमेरिकी सर्ट सेलिङ फर्म हिन्डनबर्गले गत जनवरीमा एक रिपोर्ट सार्वजनिक गर्दै भारतीय व्यापारी एवम् उद्योगपति अडानीले सत्ता र शक्तिको आडमा भयानक आर्थिक घोटाला गरेको आरोप लगाएको थियो । अडानीको फर्मले बेइमानी गरेको, शेयरमा घोटाला गरेको लगायत आरोप पनि रिपोर्टमा उल्लेख थियो ।

यी आरोपका कारण लगानीकर्ताहरूले अडानीसँगको सहकार्य तोडिरहेका छन् । यसबीच अडानीले आफ्ना कयौं परियोजना बीचमै स्थगित गर्नुपरेको छ । पछिल्लोपटक बेचेको कम्पनीमा पूँजी बढाउन अडानीले प्राथमिक शेयर निष्काशन (आइपीओ) जारी गर्न खोजेको थिए । आइपीओमार्फत अडानीले १५ अर्ब भारु जुटाउने योजना बनाएका थिए । हाल भारतभर यो कम्पनीको १६० शाखा छन् । 

भारतीय मिडियाहरूका अनुसार अडानीले बचेखुचेका परियोजना सम्पन्न गर्नकै लागि कम्पनीहरू धमाधम बेचिरहेका हुन् । हाल अडानीले मुम्बईमा नयाँ विमानस्थल र गंगा एक्सप्रेसजस्ता केही परियोजना हात पारेका छन् । यी परियोजनामा काम थाल्न अडानीलाई तत्कालै २ खर्ब भारु आवश्यक परेको छ ।

प्रतिक्रिया दिनुहोस