aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

वित्तीय र मौद्रिक नीतिको लक्ष्यले आर्थिक वृद्धि सुनिश्चित गर्छः अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ साउन २०८०
वित्तीय र मौद्रिक नीतिको लक्ष्यले आर्थिक वृद्धि सुनिश्चित गर्छः अर्थमन्त्री

भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय र मौद्रिक नीतिको एउटै लक्ष्यले आर्थिक वृद्धि सुनिश्चित गर्ने बताएका छन् । प्रेस युनियन रुपन्देहीले सोमबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो जनाएका हुन् । 

कार्यक्रममा बोल्दै उनले भने, ‘वित्तीय र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने, मूल्यवृद्धि समग्रमा घटेको छ । विसंगति चिर्दै जाने र समस्यालाई हल गर्दै जाने बाटोमा हामी अगाडि बढेका छौं ।’  

मौद्रिक नीति सार्वजनिक भएको छ । ‘ब्याजदरमा केही खुकुलोपन प्रस्ताव भएको छ । सुधारका केही पहल भएको छन्, त्यसले निजी क्षेत्रमा जाने लगानी सहज हुनेछ । ब्याजदर कम भएर जान्छ, त्यसले लगानीको वातावरण सहज बन्नेछ’, उनले भने । 

देखिएको समस्या सम्बोधन गर्दै देशलाई आर्थिक सम्वृद्धि र विकासको बाटोमा हिडाउनुपर्ने मूल उद्देश्यका साथ काम गरिरहेको मन्त्री डा. महतले बताए ।  तत्काल बजेट पुगेन, यता भएन, उता भएन जस्तो देखिन्छ, तर दीर्घकालमा परिणाम आउने गरी काम गरिरहेको मन्त्री डा. महतको भनाइ थियो ।

आवश्यक भएको सुधारका कार्यक्रम अगाडि बढाउने, अर्थतन्त्र चलायमान बनाएर राजस्वको आधार विस्तार गर्ने र राज्यको लगानी गर्ने क्षमता वृद्धि गर्नेतिर नै उन्मुख रहेको मन्त्री डा. महतको भनाइ छ । यसपटक श्रोतको कमीले धेरै विनियोजन प्रस्ताव गर्न नसकिएको यद्यपि आउँदा दिनमा त्यसको बाटो खोजी भइरहेको मन्त्री डा. महतले बताए ।  

प्रतिक्रिया दिनुहोस