
काठमाडौं । नेपाल भ्रमणमा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालको आगामी १६औं योजनामा चासो राखेको छ । मिसन चीफ टिडाइन किन्डा नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेट गर्दै आगामी योजनाबारे चासो राखेको हो ।
हाल १५औं योजना कार्यान्वयन गरिरहेको नेपालले १६औं योजना तर्जुमा थालेको छ । मुद्रा कोष टोलीले १६औं योजनामा समेटिने नेपालको आर्थिक विकास लक्ष्य, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पुँजीगत खर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीबारे चासो राखेको आयोगस्रोतले जानकारी दिएको छ ।
नेपाललाई गर्दै आएको सहयोगका लागि आयोग उपाध्यक्ष श्रेष्ठले आइएमएफलाई धन्यवाद दिए । उपाध्यक्षसँगको भेटमा आइएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका पदाधिकारीहरू पनि सहभागी थिए।
आइएमएफको मिसन टोली नेपालमा गत बिहीबार आइपुगेको हो । टोली बुधबारसम्म नेपालमै रहनेछ ।
प्रतिक्रिया दिनुहोस