गलकोट । बागलुङको बडिगाड खोलामा कानुनविपरीत मध्य बर्खामा पनि नदीजन्य पदार्थको उत्खनन गरिएको पाइएको छ। बडिगाड खोलाबाट अवैधरुपमा ढुङ्गा, गिटी, बालुवालगायत नदीजन्य पदार्थ निकाल्ने गरेको पाइएपछि बडिगाड गाउँपालिकाले यसमा रोक लगाएको हो।
नदीजन्य उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार असारदेखि भदौ मसान्तसम्म कुनै पनि नदीबाट बालुवा, गिटी र ढुङ्गा निकाल्न नपाइने र स्थानीय तहले पनि उक्त समयमा ठेक्का लगाउन नपाइने व्यवस्था छ।
बडिगाड गाउँपालिका भएर बग्ने उक्त खोलाबाट नदीजन्य पदार्थ निकालेर राखिएको पाइएपछि पालिकाले सो कार्य तत्कालै रोक्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए। उनले निर्देशन विरुद्धमा गएर दोहन नरोकिए पालिकाले कारबाही गर्ने चेतावनीसमेत दिए।
अध्यक्ष थापाका अनुसार गाउँपालिकाले अवैधरुपमा निकालिएको नदीजन्य पदार्थलाई जफत गर्ने तयारी थालेको छ। उनले भने, ‘नदी किनार तथा सडक छेउमै बालुवा निकालिएको देखिएको छ, बर्खामा नदीबाट नदीजन्य पदार्थ निकाल्दा वातावरणीय प्रभावमा प्रतिकूल असर पर्ने भएकाले रोक लगाएका छौँ । अवैधरुपमा गरिने कार्यलाई पालिकाले कारबाही गर्नेछ, पालिकाले सरकारी नियमअनुसार नदीजन्य पदार्थको ठेक्का लगाउँदै आइरहेको छ।’
बर्खायामको समयमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको र यस्तो कार्यमा बालबालिकाको समेत प्रयोग भएको पाइएकाले यसरी गैरकानुनी कार्य तुरुन्त रोक्न गाउँपालिकाले सूचना नै जारी गरेर रोक लगाएको अध्यक्ष थापाले बताए। स्थानीय तहभित्र रहेका प्राकृतिक सम्पदा एवं नदीजन्य पदार्थको सङ्कलन तथा बिक्रीवितरण वातावरणीय अध्ययन प्रतिवेदनका आधारमा ठेक्का आह्वानमार्फत हुने भए पनि बर्खाको समयमा नदीजन्य पदार्थ निकाल्न नपाइने व्यवस्था रहेको उनले जानकारी दिए। रासस
प्रतिक्रिया दिनुहोस