
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारका सटरहरू बिना प्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नु पर्ने माग गर्दै आन्दोलन गरिएको छ । सोमबार राष्ट्रिय किसान सञ्जालले आन्दोलन गर्दै यस्तो माग गरेको हो ।
उनीहरूले कालीमाटी बजारका सटर र स्टलहरू खुल्ला प्रतिस्पर्धा मार्फत भाडामा लगाउनु पर्ने माग राखेका छन् । यसका साथै बिना प्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नु पर्ने उनीहरूको माग रहेको छ ।
५० प्रतिशत सटर र स्टलहरू उत्पादक किसानलाई छुट्ट्याउनु पर्ने, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर्नु पर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर्न समेत उनीहरूले माग गरेका छन् ।
अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापाका अनुसार कालीमाटी फलफूल तथा तरकारी विकास समितिले खाली भएका सटरहरू भाडामा दिएको विषयमा किसानहरूको असहमति रहेको छ । किसानहरूले सटर भाडमा दिँदा प्रक्रिया पुर्याउन माग गर्दै आज आन्दोलन गरिएको हो ।
समितिले जुन सम्झौता गरेको छ त्यो सम्झौता खारेज हुनु पर्ने आफ्नो माग रहेको उनले बताए । आफूहरूको माग सम्बोधन नगरे अन्य चरणबद्ध आन्दोलन गर्ने उनको चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस