aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

इटाली पुगेर प्रचण्डले भने, ‘जनताको जीवनस्तरमा परिवर्तन नदेखिए हाम्रो औचित्य छैन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० साउन २०८०
इटाली पुगेर प्रचण्डले भने, ‘जनताको जीवनस्तरमा परिवर्तन नदेखिए हाम्रो औचित्य छैन’

काठमाडौँ । हाल इटाली भ्रमणमा रहेका प्रधानमन्त्री एवम्‌ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको जीवनस्तरमा परिवर्तन नआए आफूहरू र आफूहरूले गरेको राजनीतिक परिवर्तनको औचित्य सिद्ध नहुने बताएका छन्‌ । प्रचण्ड गैरआवासीय नेपाली सङ्घ इटालीले आयोजना गरेको कार्यक्रममा बोल्दै थिए ।

पछिल्लो राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न जसरी भए पनि नेपाल र नेपालीको अवस्थामा सुधार ल्याउनुपर्नेमा बताउँदै दाहालले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकिए यसको औचित्य सावित नहुने बताएका हुन्‌ । ‘हामीले नेपालमा राजनीतिक परिवर्तन राजनीतिका लागि मात्र ल्याएको होइन, राष्ट्र र जनताको वृहत्तर हित हुने गरी परिवर्तन ल्याउने भनेका हौँ’, उनले भने, ‘यदि जनताको जीवनस्तरमा परिवर्तन हुँदैन भने यसको दिगोपन र औचित्य पनि इतिहासमा सिद्ध हुँदैन ।’

आफूले यसपटक प्रधानमन्त्री हुँदा देश र जनताका लागि केही गर्नुपर्छ भन्ने सङ्कल्प लिएको उल्लेख गर्दै उनले सोही सङ्कल्पअनुसार मुलुकको अवस्था बदल्न लागिपरेको बताए । ‘जसले परिवर्तन ल्याउन लड्यो, त्यही पार्टी, विचार र नेतालाई चिन्ता हुन्छ’, उनले भने, ‘यो परिवर्तनले जनतालाई राम्रो गर्यो कि गरेन । यो पटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा गरेको सङ्कल्प त्यही नै हो ।’

सात दशक लडेर ल्याएको परिवर्तनले राष्ट्र र जनताको हित गर्न सकेन भने त्यो दुर्भाग्यपूर्ण हुनेछ भन्दै उनले परिवर्तन असफल भयो भने राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको औंल्याए । ‘यो परिवर्तन असफल भयो भने राजनीतिक परिवर्तनमात्रै असफल हुँदैन, नेपाल राष्ट्र नै असफल हुने र दुर्घटनामा पर्ने खतरा रहन्छ’, उनले भने, ‘त्यसकारण देश र जनतालाई दुर्घटनाबाट बचाउन पनि यसपटक सरकारको नेतृत्वको हैसियतले कठोर कदम चाल्नैपर्छ भनेर महत्वपूर्ण काम थालिएका छन् ।’

समृद्धिको पक्षमा नयाँ अभियान चलाएको दाबी

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन चलाएको पनि दाबी गरेका छन्‌ । भ्रष्टाचार र बेथितिका विरुद्धमा सरकारले कडा कदम चालेको उनले बताए ।

आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितिको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्वपूर्ण कामको थालनी गरेको प्रचण्डको दाबी छ ।

जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्रयाकमा ल्याइएको बताए । ‘सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरीत र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताए । ‘शरणार्थी प्रकरणमा राष्ट्रहित विपरीतको काम भएको देखियो, सरकारले फोहर सफा गर्न यो कदम चालेको हो’, उनले भने ।

प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताए । ‘यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरामात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ’, उनले भने ।

नेपालमा थुप्रिएको बेथिति र विसङ्गतिको चाङ अन्त्य गर्ने विषय रातारात एक जनाले चाहँदैमा भइहाल्ने अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विकृति र विसङ्गति अन्त्यका लागि सम्पूर्ण नेपालीको साथ आवश्यक रहेको बताए ।

नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीसम्बन्धी समस्या, इटालीले ल्याउने मौसमी कामदारको सूचीमा नेपाल नसमेटिएकालगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको उनको भनाइ थियो । ‘कानुनी तथा संरचनात्मक जटिलतालाई हल गरेर यी विषयमा सरलीकरण गरिन्छ’, उनले भने ।

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनले आयोजना गरेको कार्यक्रमको दौरानमा इटालीका प्रधानमन्त्री र राष्ट्रसङ्घका महासचिवसँग अनौपचारिक रूपमा महत्वपूर्ण कुराकानी भएको जानकारी दिँदै उनले आफूले औपचारिक कार्यक्रममा दिएको वक्तव्यपछिको प्रतिक्रिया पनि निकै सकारात्मक भएको पाएको बताए । ‘अब इटाली सरकारसँग नेपाल सरकारको सम्बन्ध अझ गहन हुने र अगाडि बढ्ने विश्वास लिएको छु’, उनले भने, ‘तपाईंहरू (एनआरएन)ले उठाएका विषय सम्बोधनको पहलका लागि आधार मिलेको छ ।’

इटालीमा रहेका नेपालीले यहाँ आइपुग्दा र यहाँ रहँदा भोगेका समस्याबारेमा आफूले नजिकबाट जान्ने मौका पाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपालीले भोग्दै आएका समस्या समाधानका लागि नेपाल सरकारकातर्फबाट सक्दो सहयोग गर्ने बताए । ‘मैले यहाँ बस्ने नेपालीका समस्या, यहाँ आइपुग्दा भोगेका समस्या, यहाँ पुगेपछि भोगिरहेका समस्याबारे प्रत्यक्षरूपमा बुझ्ने मौका पाएँ’, उनले भने, ‘इटालीमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधानका लागि नेपाल सरकारबाट के गर्न सकिन्छ, त्यसका निम्ति पहल गर्नेछु ।’

परराष्ट्र सचिव भरतराज पौडेलले गैरआवासी नेपालीको नागरिकतासम्बन्धी विषय सम्बोधन भएको बताए । अस्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीले आफूहरू इटालीमा रहेका नेपाली समुदायसँग अत्यन्त नजिक रहेको उल्लेख गर्दै नेपालीले भोग्दै आएका समस्यालाई नेपाल सरकारसमक्ष पुर्याउने गरेको बताए ।

कार्यक्रममा सहभागी मुलुक बाहिर रहेका नेपालीले आफ्नो परिवारको भन्दा पनि मातृभूमिको माया गरी आएको उल्लेख गर्दै सहभागीले गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने वातावरण बनेकामा सरकारलाई धन्यवाद दिएका थिए । पछिल्लो दुई वर्ष गैरआवासीय सङ्घका लागि सुखद नरहेको भन्दै उनीहरूले विभाजित एनआरएनएलाई प्रधानमन्त्रीको उपस्थितिमा एक ठाउँमा ल्याउने सम्झौता भएकामा आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस