
काठमाडौं । जनमत पार्टीका सांसद् अब्दुल खानले वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको शव नल्याएको सरकारले संविधान नै मिचेको दाबी गरेका छन् । प्रतिनिधि सभा बैठकमा बुधबार बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद खानले विदेशबाट आफ्ना नागरिकको शव समेत ल्याउन नसक्ने सरकारलाई रेमिट्यान्स उठाउने कुनै अधिकार नभएको बताएका हुन् ।
‘देशबाट दिनहुँ हजारौं दाजुभाइ वैदेशिक रोजगारीमा जान्छन् । मृत्यु हुन्छ । मृत्यु भइसकेपछि उहाँहरुको शवसमेत सरकारले ल्याउन सक्दैन,’ खानले भने, ‘यस्तो अवस्थामा राजदूतावास र राजदूतहरु किन राख्ने ? जुन सरकारले विदेशबाट आफ्ना नागरिकको शव समेत ल्याउन सक्दैन, त्यस्तो सरकारलाई रेमिट्यान्स उठाउने कुनै अधिकार छैन ।’
अहिले जोर्डनमा नेपाली महिलाहरूको शव भेटिएको उल्लेख गर्दै सांसद् खानले त्यसप्रति पनि सरकारले कुनै चासो नलिएको दाबी गरे । साथै, चालकको रुपमा साउदी अरेबियामा रहेका सिरहा गोलबजार ११ इस्तिका रहमान खानको सवारी दुर्घटनामा मृत्यु भएको र भाइ असगर अलीले शव ल्याउन विभिन्न कार्यालयमा धाइरहे पनि कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।
‘वैदेशिक रोजगार बोर्ड र कन्सुलर विभागमा लिखित निवेदन दिँदा पनि कुनै सुनुवाइ भएन । यस्तो अवस्थामा संविधानको धारा ३४ को उल्लंघन भएका छ,’ उनले थपे, ‘धारा ३४ ले श्रमको अधिकार सबै नागरिकलाई हुनेछ भनी उल्लेख गरेको छ । तर, एउटा शव ल्याउन नसक्ने सरकारले रेमिट्यान्सबाट देश चलाइरहेको छ ।’
देशमा कतै इञ्जिनियर कुटिएको त नार्क र नाष्टजस्ता निकायमा काम गर्ने विद्वानहरुलाई अपमान गरेर ४० नम्बरमा पर्नेलाई राजनीतिक शक्तिको आडमा १ नम्बरको बनाइएको पनि उनले संसद् बैठकमा उल्लेख गरे । इञ्जिनियर दिवसका दिन मधेश प्रदेशका इञ्जिनियरहरुलाई प्रदेशमै रोजगारी दिनुपर्छ भनी ज्ञापनपत्र बुझाउन जाँदा प्रहरी प्रशासनले कुटपिट गरेकोप्रति खानले रोष प्रकट गरे ।
प्रतिक्रिया दिनुहोस