aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गोरखामा हिंसापीडितलाई नि:शुल्क उपचार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ साउन २०८०
गोरखामा हिंसापीडितलाई नि:शुल्क उपचार

गोरखा । गोरखा जिल्लाभित्र विभिन्न प्रकारका हिंसामा परेका महिलाको उद्धार गरी मनोसामाजिक परामर्ससहित निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । गोरखा अस्पतालमा आइपुगेका हिंसा पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत अस्पतालले आवश्यक निःशुल्क उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा हरिकुमार श्रेष्ठले हिंसापीडित व्यक्तिलाई मनोसामाजिक परामर्शसहित स्वास्थ्य सेवा प्रदान भइरहेको बताए । उनले भने, ‘गत एकवर्षमा अस्पतालले ३६ हिंसापीडित महिलालाई एकद्वार गरी उपचार सेवा प्रदान गरिएको छ ।’ केन्द्रमार्फत पीडितहरूको वास्तविक समस्या बुझेर पीडितको जीवनको सुरक्षा प्रत्याभूत गराएर मात्र घर फर्काउने गरिएको उनले बताए ।

स्वास्थ्य अवस्था ठिक भएका हिंसापीडितलाई उपचारपछि घर पठाउने गरिएको र चाहे घरेलु हिंसा होस् चाहे लैङ्गिक वा यौन हिंसा होस् परेका हुन् : सबै हिंसापीडितलाई आवश्यक उपचार र परामर्श सेवा प्रदान गरिँदै आएको श्रेष्ठको दाबी छ । उपचारपछि पनि स्वास्थ्य अवस्था ठिक नभएका हिसांपीडितहरूलाई स्वास्थ्य अवस्था ठीक नभएसम्मका लागि सामाजिक विकास कार्यालय गोरखाको सहयोगमा खाने बस्ने सुविधासहित ‘सेफ हाउस’मा राख्ने गरिएकोसमेत उनले जानकारी दिए ।

गोरखा अस्पताल र जिल्ला प्रहरी कार्यालय गोरखाको सिफारिसमा हिसांपीडित व्यक्तिलाई खाना बस्नको लागि सामाजिक विकास कार्यालय गोरखाले जिम्मा लिने गरेको छ ।अहिलेसम्मको तथ्याङक अनुुसार हिसांपीडित मध्येपनि धेरै यौन हिंसामा परेका पीडितले अस्पतालबाट मनोसामाजिक परामर्श सेवा लिएको पाइएको अस्पतालले जनाएको छ । 

‘समाजका अगाडि पीडितहरूले सबै कुरा खोल्न गाह्रो मानिरहेका हुन्छन्,‘ श्रेष्ठले भने, ‘वास्तविक समस्या बुझेर उनीहरूका पीडा कम गर्ने र जीवनजिउने आत्माविश्वास बढाउँदै अस्पतालले उपचारको जिम्मा लिएर निःशुल्क उपचारसँगै परामर्शको जिम्मा लिने गरेको छ ।’

हिंसामा परेका पीडितले निःशुल्क उपचार र मनोसामाजिक परामर्शले बाँच्ने हिम्मत बढाएको बताएका छन् । अस्पतालमा पुगेर उपचार गराएपछि आत्माविश्वास बढेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस