aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बरामद गरिएका ८ हजार ८ सय थान हातहतियार नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ साउन २०८०
बरामद गरिएका ८ हजार ८ सय थान हातहतियार नष्ट

काठमाडौं । विभिन्न समयमा बरामद गरिएका हतियार नष्ट गरिएको छ । नेपाल प्रहरीले विभिन्न समयमा बरामद गरेको ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरेको हो । 

विभिन्न मिति र स्थानबाट कानून बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६ हजार ७४ थान रहेका थिए । त्यस्तै, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान रहेका थिए । 

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बुढानिलकण्ठ नगरपालिका–११ का वडाअध्यक्ष लगायतको रोहबरमा नष्ट गरिएको हो । काठमाडौं महानगरपालिका–११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३)  बमोजिम नष्ट गरिएको छ । त्यसमा प्रयोग भएका फलामलाई पत्रु बनाई कानून बमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।    
 

प्रतिक्रिया दिनुहोस