
ब्रिक्सको इतिहासकै सर्वाधिक महत्त्वपूर्ण शिखर सम्मेलन अगस्ट २२-२४ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा हुन गइरहेको छ । यदि हामी विश्व अर्थतन्त्रले आगामी दिनमा तय गर्ने मार्ग र यात्राबारे केही बुझ्न चाहन्छौँ भने यसै बेला ब्रिक्सका केही आधारभूत कुराहरू माथि विमर्श गर्नुपर्ने हुन्छ ।
ब्रिक्स रिजर्भ नयाँ मुद्राको सम्भावना
ब्रिक्सका शीर्ष तीन सहयोग मञ्चका रूपमा राजनीति र सुरक्षा, वित्त र अर्थव्यवस्था, र संस्कृति हुन्। त्यसैले दक्षिण अफ्रिका शिखर सम्मेलनमा सुन समर्थित नयाँ ब्रिक्स रिजर्भ मुद्राको घोषणा गरिंदैछ भन्ने चर्चा पनि अहिले व्यापक छ । तर, तयारीका हिसाबले हेर्ने हो भने अहिले नै त्यो सम्भव देखिँदैन ।
ब्रिक्सबारे व्याख्या गर्ने पण्डितहरूले कतिपय सञ्चार माध्यमहरूलाई पुष्टि गरेअनुसार यसले नयाँ प्रगतिका रूपमा आर-५ नामक नयाँ साझा भुक्तानी प्रणाली भने सुरु गर्ने तयारी गरिरहेको छ । उनीहरूका अनुसार सुन वा वस्तुमा आधारित हुन सक्ने नयाँ रिजर्भ मुद्राबारेको छलफल भने प्रारम्भिक चरणमा नै मात्र छ ।
बरु अहिले ब्रिक्सको प्राथमिकतामा आर५ सुरु गर्ने भन्ने रहेको छ । यो ब्रिक्सले परिकल्पना गरेको नयाँ भुक्तानी प्रणाली हो । सबै हालको ब्रिक्स मुद्राहरू ‘आर’बाट सुरु हुन्छन् : रेन्मिन्बी (युआन), रुबल, रियल, रूपया, र्यान्ड। आर५ ले हालका ब्रिक्स सदस्यहरूलाई अमेरिकी डलरलाई बाइपास गरेर र उनीहरूको अमेरिकी डलर रिजर्भ घटाएर पारस्परिक व्यापार बढाउन सहयोग गर्ने छ । यो डि-डलरीकरणको लामो र घुमाउरो बाटोमा हिँड्न चाहेका ब्रिक्स राष्ट्रहरूको धेरै व्यावहारिक कदमहरू मध्ये पहिलो हो ।
न्यू डेभलपमेन्ट बैंक (एनडीपी) लाई ब्रिक्स बैंकको लागि विस्तारित भूमिका सहित अघि बढाउनेबारे भने अझै पनि छलफल भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरिरहेका छन् । एनडीपीले ब्रिक्सको सुनमा आधारित मुद्रामा ऋणहरू प्रदान गर्न सक्छ र यसलाई व्यापार र वित्तीय लेनदेनको माध्यमको विश्वव्यापी इकाई बनाउन सक्छ भन्ने तहमा समेत विमर्श भइरहेको देखिन्छ ।
त्यसपछि ब्रिक्स निर्यातकर्ताहरूले आफ्ना सामानहरू अमेरिकी डलरको सट्टा ब्रिक्स मुद्रामा बेच्नुपर्नेछ । पश्चिमबाट आयातकर्ताहरूले ब्रिक्सको सुनमा आधारित मुद्रामा भुक्तानी गर्न स्वीकार गरेको हुनुपर्छ। त्यसैले अहिले नै ब्रिक्सको सुनमा आधारित मुद्रा प्रचलनमा ल्याइहाल्न यो शिखर सम्मेलनले सक्छ भनेर पत्याउने ठाउँ कम छ ।
ब्रिक्स भित्रका समस्या
रूस, इयू र खाडीका स्वतन्त्र वित्तीय सञ्चालकहरूको छलफलमा बारम्बार उठिरहने कुरा हो : ब्रिक्स भित्रको असन्तुलन र कमजोर गठबन्धन । जुन ब्रिक्स+ विस्तारसँगै क्रमशः बढ्दै जाने निश्चित छ।
ब्रिक्सभित्र चीन-भारत बीच गम्भीर असमझदारीहरू छन् ।उता ब्राजिल साम्राज्यवादी तानासाहहरूको निशानामा पर्दा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको ग्लोबल साउथलाई सुदृढ पार्ने प्राकृतिक अभियान नै चुनौतीको बीचमा च्यापिएको छ। अर्जेन्टिनालाई पूरै पश्चिम लागेर ब्रिक्स+ मा सामेल हुनको लागि गरेको प्रवेश अनुरोध ‘स्थगन’ गर्न बाध्य पारेको छ।
अर्को प्रमुख सदस्य जो कमजोर रूपमा प्रस्तुत भइरहेको छ : त्यो हो दक्षिण अफ्रिका। ब्रिक्स इतिहासको सबैभन्दा महत्त्वपूर्ण शिखर सम्मेलनको आयोजक रहेको यो मुलुकले स्वतन्त्र ग्लोबल साउथ मध्य-तहको शक्ति बन्नको लागि योग्य नभएको भन्ने अपमानजनक सम्झौतामा हस्ताक्षर गरेको छ ।
दक्षिण अफ्रिकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत नगर्ने निर्णय गर्यो र यसको सट्टा विदेश मन्त्री सर्गेई लाभरोभको उपस्थितिलाई रोज्यो- जसरी प्रिटोरियाले मस्कोलाई पहिले सुझाव दिएको थियो। अन्य ब्रिक्स सदस्यहरूले निर्णयलाई मान्य गरे।
बलियो बन्दै बीआरआई
दक्षिण अफ्रिकाको यो निर्णयले ब्रिक्सको नेतृत्वमा भूराजनीति भ्रम मात्र नभएर अन्य केही समस्या पनि छन् कि भन्ने गम्भीर प्रश्न खडा गर्छ। ब्रिक्स राष्ट्रले भौगर्भिक रूपमा खेलिरहेको यो फरक खेलमा चिनियाँ बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) को महत्त्व भिन्नै छ ।
बीआरआई राष्ट्रहरूसँगको चिनियाँ व्यापार गत वर्षको सोही अवधिको तुलनामा २०२३ को पहिलो छ महिनामा ९.८ प्रतिशतले बढेको छ । त्यो चीन र सामूहिक पश्चिम बीचको व्यापारको ४.७ प्रतिशतको समग्र सङ्कुचनसँग तीव्र रूपमा भिन्न छ । यसबिच इयुसँग ४.९ प्रतिशतले र अमेरिकासँग १४.५ प्रतिशतले व्यापार घटेको छ ।
चीनको रूस, दक्षिण अफ्रिका र सिङ्गापुरमा निर्यात वृद्धिसँगै ७८ प्रतिशतले व्यापार बढेको छ। चीनको बीआरआई साझेदारहरूसँगको व्यापार अहिले मूल्यको हिसाबले चीनको कुल विश्वव्यापी व्यापारको ३४.४ प्रतिशत छ । त्यो सङ्ख्या बढिरहेको छ।
अर्को महिना दक्षिण अफ्रिकामा सबैको नजर ब्रिक्स+ को विस्तारलाई व्यवस्थित गर्दा ब्रिक्सले आफ्ना आन्तरिक समस्याहरू समाधान गर्न कसरी काम गर्छ भन्ने कुरामा केन्द्रित हुने छ। को त्यो क्लबमा सामेल हुनेछरु साउदी अरेबिया, यूएई, इरान, काजकिस्तान, अल्जेरियाले के गर्नेछन् ? भन्ने प्रश्न सँगै नयाँ भुक्तानी प्रणाली र बीआरआईको विस्तार पनि चर्चाको केन्द्रमा रहने अनुमान छ ।
त्यस बाहेक अब चिनियाँ युआन पो ग्लोबल साउथ कै व्यापार मुद्रा बन्ने दिशामा अघि बढेको हो कि भन्ने पनि देखिएको छ । विश्व व्यापारको सर्व स्वीकार्य मुद्राका रुपमा रहेको अमेरिकी डलरलाई विस्थापित गर्ने कार्यको थालनी भैसकेको छ । डलर विस्थापित हुँदा त्यसलाई विस्थापन गर्ने मुद्रा कुनै एउटा मुलुकको मुद्रा नहोस् भन्नेमा सबै देशहरू सजग भएपनि चिनियाँ मुद्रा यति बलियो रुपमा प्रस्तुत भैरहेको छ कि हालै भारतले रुसलाई तेलको भुक्तानी चिनियाँ मुद्रामा गरेको छ । जबकि भारत र रुस बीच नै पनि स्थानीय मुद्रामा भुक्तानी स्वीकार गर्ने सम्झौता भैसकेको छ ।
यदि ब्रिक्स शिखर सम्मेलनले औपचारिक वा अनौपचारिक रुपमा आफ्नो व्यापार विनिमयको लागि भरपर्दो मुद्राका रुपमा चीनको मुद्रा युआनलाई समर्थन गर्यो भने त्यसलाई अनपेक्षित निर्णय भन्न नमिल्ने अवस्था छ । जे होस्, आगामी महिना दक्षिण अफ्रिकामा जे हुन्छ त्यसले विश्वको अर्थतन्त्रलाई भने नयाँ दिशामा हिँडाउने पक्का छ । जुन बीआएआईको अघोषित प्रमुख लक्ष र उद्देश्य मध्ये एक हो ।
(अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा ।)
प्रतिक्रिया दिनुहोस