aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
जनमतको दुरुपयोग

सिद्धार्थनगर व्यापारीको अवैध कब्जामा, कारबाहीको साटो ‘इश्क’ गर्दै मेयर इश्तियाक !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ साउन २०८०
सिद्धार्थनगर व्यापारीको अवैध कब्जामा, कारबाहीको साटो ‘इश्क’ गर्दै मेयर इश्तियाक !

काठमाडौं । भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाभित्र पछिल्लो दशक ठूलाठूला भवन बनिरहेका छन् । यसै त व्यापारिक हब भैरहवा, त्यसमाथि सिद्धार्थनगरको जग्गा ! देशलाई नै भूमाफियाले कब्जा गर्न खोजिरहँदा सिद्धार्थनगरको हालत पनि उस्तै छ । अझ, सार्वजनिक जग्गा हडप्ने र मापदण्ड मिचेर भवन बनाउनेप्रति नगरका वर्तमान मेयर इश्तियाक अहमद खाँनको ‘इश्क’ बढ्दो छ ।

सिद्धार्थनगरमा व्यापारीहरूले मापदण्ड मिचेर भवन बनाइरहेको र नगरपालिकाले कानून पालना गराउन नसकेकोबारे आर्थिकन्यूजमा साउन २ गते समाचार प्रकाशन भएको थियो । सिद्धार्थनगरका स्थानीयबासीले बारम्बार उठाइरहेको सवाल र मापदण्ड मिचेर भवन बनाइरहेका व्यापारीहरूको मनमौजी नियन्त्रणतर्फ भने अझै जनप्रतिनिधि र कर्मचारीले ठोस कदम चालेका छैनन् ।

यी हुन् मापदण्ड मिचाहाहरू

यतिखेर सिद्धार्थनगरका चोक–चोकमा मापदण्ड विपरीतका भवन धमाधम निर्माण भइरहेको छ । भैरहवाको मुख्य देवकोटा चोकमै सीताराम उप्रेतीले बनाएको भवन मापण्डभन्दा बाहिर छ । उनको एसआर कम्प्लेसले माथिल्लो तला नक्सा पास नगरी बनाएको हो ।

एसआर कप्लेसकै दक्षिणतिर व्यवसायी राम थापाको होटल यति छ । त्यो होटल सार्वजनिक कुलोमाथि बनाएको भन्ने स्थानीयले बताउँदा र नगरपालिकालाई थाहा हुँदा पनि कानुनी दायरामा ल्याउन सकेको छैन । भवन निर्माण मापदण्ड पनि पालना भएको छैन ।

लुम्बिनी गेटैअघि बन्दै गरेको पाँचतारे होटल बुद्ध स्टार अग्नी सिमेन्टका सञ्चालक राजकुमार पोखरेलको हो । उनले भवनको अगाडिको भागको अस्थायी नक्सा लिएर पछाडिपट्टी ठूलो भवन बनाएका हुन् । सो भवनको नक्सापास नभएको नगरपालिकाकै कर्मचारीहरूले बताएका छन् । अग्नि सिमेन्टका मालिक पोखरेलले सिमेन्ट उद्योगको लागि कर्जा लिएर होटल बनाएका हुन् ।

देवकोटा चोकमै सामाजिक क्षेत्रमा काम गर्ने भोजबहादुर खत्रीको होटल सिटी सेन्टर छ । चार तल्लाको नक्सा बनाएर ६ तला बनाउँदा नगरपालिका चुप छ ।

नारायणस्थानमा रहेको डा. ज्ञानदेव हटुवालको शाश्वत भवनको नक्सा पास भए पनि मापदण्ड विपरीत रहेको नगरपालिकाका कर्मचारीहरू बताउँछन् । भवन मापदण्ड विपरित बनेको नगरपालिकाका इन्जिनियरले बताइरहँदा नक्सा पास दिइएको छ ।

नरेन्द्र गुप्ता, सुनिल अग्रवाल र पवन सरावली लगायतको संयुक्त लगानीमा गौतबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नजिकै बुद्ध रिजेन्सी प्रा.लि. को नामबाट होटल बनिरहेको छ । तर, नक्सापास नै नगराइ भवन बनाउन थालिएको हो । हालसालै बनेको गुलमोहर रेष्टुरेन्ट सञ्चालन भएको भवनले पनि सडक नै मिचेको छ ।

नगरपालिकाले हालसालै मापदण्ड विपरीतका ठूला भवनबारे गरेको अध्ययन प्रतिवेदनमा १४ वटा भवन मापदण्ड विपरीत रहेको नगरपालिका प्रशासनले जनाएको छ । शक्ति र पहुँचका भरमा मापदण्ड मिचेर निर्माण भएका भवनको संख्या निकै धेरै छ ।

‘त्यस्तो भएकै छैन’ : मेयर खान

‘नगरपालिकाभित्र उद्योगी/व्यापारी र पहुँचवाला धनाढ्यले सार्वजनिक सम्पत्ति तथा मापदण्ड मिचेर भवन बनाइरहेकालाई किन कारबाही नगर्नुभएको ?’ भनी आर्थिकन्यूजले सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँनलाई सोधेको थियो । जवाफमा खानले बारम्बार दोहोर्‍याइरहे, ‘यहाँ त्यस्तो भएकै छैन, कसैले उजुरी दिएको पनि छैन, प्रमाण पनि छैन ।’

मापदण्ड मिचेका स्वयम् केही व्यापारीहरूले मेयरलाई नै रकम बुझाइसकेकोले आफूहरूमाथि कारबाही नहुने दाबी अनौपचारिक कुराकानीमा गरेका थिए । ‘रकम बुझेर कारबाही नगर्नुभएको भन्ने सुनियो, भवन बनाएकाहरूले नै त्यही भन्दैछन्’ भनेपछि मेयर खाँनको तेबर नै फेरियो र भने, ‘मापदण्ड मिचिएको भन्ने सुनेको छु, मैले मेरो अमिनलाई नाप्न लगाएको छु, नापी र भवन विभागको नक्सा हेर्नुपर्छ, मिचिएको छ कि छैन भन्ने थाहा पाउन १ महिनाजति समय लाग्छ ।’

सिद्धार्थनगरमा काठमाडौंमा जस्तो सार्वजनिक जग्गा मिच्ने काम नभएको र मापदण्ड परिपालना पनि ठीकठाकै रहेको मेयर खाँनले दाबी गरे । साथै, मापदण्ड मिचेपनि निजी जग्गामा बनाइएको भवन भत्काउन नमिल्ने र जरिवाना मात्रै गर्न सकिने खाँनको भनाइ छ ।

मापदण्ड मिचेर भवन बनाएकाप्रति सिद्धार्थनगरका मेयर खाँन नरम देखिएपनि नगरपालिका प्रशासनले भने आर्थिक वर्ष २०८०/०८१ मा नगर सभाको बैठकमार्फत निर्णय गरी मापदण्ड विपरीतका भवन भत्काउने जनाएको छ । तर, मेयर खानले यसो नगर्न दबाब दिने पक्कापक्की रहेको कर्मचारीहरू बताएका छन् ।

जनप्रतिनिधि र व्यापारीबीच चर्को साठँगाँठ

मापदण्ड मिचेर भवन बनाएका केही स्थानीय व्यापारीहरूसँग कुरा गर्दा उनीहरूले आर्थिकन्यूजसँग लगभग एकै लयमा भने, ‘हाम्रो केही कमजोरी भएकै हो, तर अघिल्ला र अहिलेका मेयरलाई धेरै रकम बुझाइसकेका छौं, अन्य जनप्रतिनिधिले पनि चुनावकै बेलादेखि रकम बुझेका हुन्, कारबाही त नहोला ।’

व्यापारीहरूले नै आर्थिक लेनदेनमा मापदण्ड मिच्नेजस्तो गैरकानूनी कामलाई छाँद हालेको भनी डामेको सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खाँन हुन् भने उमा अधिकारी उपप्रमुख हुन् । उज्जवल पोखरेल–१, छेदिलाल श्रीवास्तव–२, नारायणप्रसाद उपाध्याय–३, मुक्तिनाथ यादव–४, पुरनप्रसाद श्रेष्ठ–५, वीरेन्द्रनाथ श्रीवास्तव–६, दामोदर शर्मा घिमिरे–७, राजनजंग राणा–८, शेषकान्त भण्डारी–९, सुर्जमन अहिर–१०, दिलीपकुमार यादव–११, कुमार गुरुङ–१२ र सोमबहादुर गुरुङ १३ नम्बर वडाका अध्यक्ष हुन् ।

नगरपालिकाका जनप्रतिनिधी, इन्जिनियर, कर्मचारीलाई नगरपालिकाभित्रका धेरै भवन मापदण्ड विपरीत रहेको थाहा भएपनि कारबाही गरिरहेका छैनन् । न त निर्माणाधीन भवन निर्माणमा रोक लगाएको छ । केही धुर जग्गामा टहरो हाली बसेका निमुखालाई भने नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले खोजीखोजी रुवाउने गरेका छन् ।

‘स्थानीय सरकारलाई डोजर चलाउने अधिकार छ’ : अधिवक्ता गौडेल

मापदण्ड विपरीत बनेका भवनमाथि काम कारबाही गर्ने अधिकार स्थानीय सरकारलाई रहेको तथा अटेरी गर्ने भवनहरूमाथि डोजर चलाउने र क्षतिपूर्ति तिराउन मिल्ने कानून रहेको वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेल बताउँछन् ।

सिद्धार्थनगर नगरपालिकाले कानूनको पालना गराउन नसेको र अनुगमन नगरेको बताउँदै भवन बनेपछि मात्रै मापदण्ड अनुसार भएन भन्ने गरेको अधिवक्ता गौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस