aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चीनको विकास रोक्ने अमेरिकी 'डीकपलिंग' रणनीतिले निम्त्याउँदैछ जोखिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ साउन २०८०
चीनको विकास रोक्ने अमेरिकी 'डीकपलिंग' रणनीतिले निम्त्याउँदैछ जोखिम

अमेरिकाले चीनको प्राविधिक विकासलाई सीमित गर्ने र व्यापारमा आफ्नो विश्वव्यापी आधिपत्य कायम राख्ने योजना बनाएको छ । यो रणनीतिलाई 'डीकपलिंग'को रूपमा व्याख्या गर्न सकिन्छ

आर्थिक र व्यापारिक क्षेत्रमा 'डीकपलिंग' भनेको पहिले देखी नै जोडिएर काम गरिरहेका प्रणालीहरू, सर्किटहरू, कतिपय भागहरू, सम्पत्तिका स्रोतहरू, बजारहरू सबै बीच रहेको अन्तरसम्बन्धलाई छुट्याउने, अलग गर्ने र सकेसम्म अन्त्य गर्ने कार्य हो ।  यसो गर्दा ती आफैँ  स्वतन्त्र रूपमा काम गर्न नसक्ने अवयवहरू स्वतः निष्क्रिय बन्छन् । त्यसैले अमेरिकाले अहिले चीनलाई कमजोर पार्न 'डीकपलिंग' गर्ने रणनीति अपनाएको हो ।

यो क्रममा सबैभन्दा पहिले उसले चीनलाई आवश्यक पर्ने महत्त्वपूर्ण टेक्नोलोजी, विशेष गरी उन्नत गुणस्तरका सेमी कन्डक्टरको पहुँचबाट चीनलाई रोक्ने प्रयास गरिरहेको छ । यसलाई अमेरिकी विदेश नीति विशेषज्ञहरूले सर्व सहमतले किन लागु गरिरहेका छन् भने  यसले चीनको द्रुत प्राविधिक विकासलाई नियन्त्रण गर्न सक्छ भन्ने उनीहरूको विश्वास छ ।

त्यसैले अमेरिकाका दुवै राजनीतिक दल र विदेश नीतिको निर्णायक वर्ग चीनलाई यस्ता सम्भावना र अवसरबाट अलग राख्नका लागि पूर्ण रूपमा प्रतिबद्ध छन् । तिनीहरूलाई के लागिरहेको छ भने चीनलाई तह लगाउने यसअघिका प्रयासहरू असफल भएका छन् । अब चीनलाई एक्लो पार्ने नीतिमा परिवर्तन गर्दै अप्ठ्यारोमा पार्नै पर्ने छ ।

हालै अमेरिकी सरकारले उच्च गुणस्तरका सेमी कन्डक्टर र सम्बन्धित उपकरणहरू चीनमा निर्यात गर्न नदिन कडा प्रतिबन्धहरू लागू गर्‍यो । जसले चीनको कृत्रिम बुद्धिमत्ता (एआई) विकास गर्ने क्षमतामा बाधा पुर्‍याएको छ । यसको लक्ष्य भनेको चीनको प्रविधि विकासको क्षमतालाई यति हदसम्म कमजोर पार्नु हो कि त्यसले भविष्यमा समेत सहजै लय समात्न नसकोस् ।

अमेरिकाको नयाँ नीति अनुसार कुनै पनि चिनियाँ कम्पनीलाई उन्नत चिपहरू बेच्न अब इजाजत पत्र चाहिन्छ, जुन प्राय जसो अवस्थामा अस्वीकार गरिनेछ । त्यसैगरी, कुनै पनि अमेरिकी व्यक्ति वा कम्पनीलाई उन्नत चिप निर्माणमा संलग्न चिनियाँ कम्पनीहरूसँग काम गर्न समेत निषेध गरिएको छ ।

यो प्रतिबन्धले सेमी कन्डक्टर आपूर्ति शृङ्खलामा निकै ठूलो उतारचढाव ल्याउने देखिएको छ । यसले चिप निर्माण गर्ने  उपकरणहरूमा प्रयोग हुने अन्य मेसिनरीहरूलाई समेत लक्षित गरेको छ । त्यसैले अमेरिकाको यो निर्णयले चीनका  प्राविधिक उद्योगको लागि ठूलो समस्या निम्त्याउँछ।

यी कार्यहरूले विश्वव्यापी आर्थिक र प्राविधिक शक्ति सन्तुलनमा समेत महत्त्वपूर्ण प्रभाव पार्न सक्छ। यस्तो "डिकपलिंग" रणनीतिले आर्थिक युद्ध समेत निम्त्याउन सक्छ । यसमा चीनलाई उनीहरूको एआई र सुपर कम्प्युटरहरूको लागि आवश्यक उन्नत सेमी कन्डक्टरहरू प्राप्त गर्नबाट रोक लगाउने उद्देश्य रहेको देखिन्छ । यसले के पनि देखाउँछ भने अमेरिका आफ्नो भूराजनीतिक स्वार्थ पूरा गर्न विद्यमान व्यापार नियमहरू विरुद्ध जान समेत तयार छ।

यो प्राविधिक युद्धले चीनको समग्र प्राविधिक विकासलाई गम्भीर रूपमा बाधा पुर्‍याउने लक्ष्य राखेको छ । जसले कम्प्युटिङ भन्दा बाहिरका विभिन्न क्षेत्रहरूलाई समेत गम्भीर असर गर्छ। तर, अमेरिका जुनसुकै मूल्यमा प्रविधिमा भइरहेको चीनको वृद्धिलाई कमजोर र सुस्त बनाउन कटिबद्ध छ।

त्यसो त यो योजना लागू गर्दा अमेरिकाको लागि समेत केही जोखिमहरू छन् । अमेरिकाको यस्तो हर्कतले चीन र बाँकी विश्वबीच थप बलियो सम्बन्ध बन्न सक्छ । यदि चीनले बदला लियो भने यसले आफ्ना आपूर्ति लाइनहरू अवरुद्ध गर्न सक्छ ।  परिणामस्वरूप विश्वव्यापी मन्दी निम्त्याउन सक्छ।

संयुक्त राज्य अमेरिका र चीन दुवैले स्वीकार गर्दै आएको कुरा यो पनि हो कि राष्ट्रिय सुरक्षा चिन्ताका कारण प्रविधि प्रतिबन्धहरू लाग्न सक्छन् । त्यसको लागि आंशिक डिकपलिंग हुने सम्भावना छ । उनीहरू आवश्यक परेको खण्डमा एक अर्का बिरुद्ध अन्य देशहरूलाई समेत यस्ता प्रयासहरूमा सामेल हुन दबाब दिन सक्छन् ।

सँगसँगै अवश्य पनि दुवै पक्षका धेरै व्यक्तिहरूले बुझेको हुनुपर्छ कि डिकपलिंग समस्याको सही समाधान होइन र यो थप खतरनाक हुन सक्छ । अमेरिका र चीन दुवै मुलुकमा असहमतिपूर्ण आवाजहरूलाई अक्सर बेवास्ता गरिन्छ वा दबाइन्छ। त्यसैले यस्तो आवाज बलियोसँग उठ्ने र सारा संसारलाई नै उनीहरूको कारण क्षति पुग्ने सम्भावना रोक्ने दिशामा कसैले आवाज बुलन्द गर्दैन ।

यसरी विश्वका ठूला र विकसित अर्थतन्त्रहरू निर्मम ढङ्गले एक आपसमा जुध्दा विकासशील अर्थतन्त्रहरूलाई भने धेरै नै समस्या पर्छ । यस्तो खण्डित विश्वव्यापी अर्थतन्त्र विकासशील अर्थतन्त्रका लागि लाभदायक छैन । तर तिनीहरूसँग वर्तमान गति परिवर्तन गर्ने शक्तिको अभाव छ ।

यो प्राविधिक युद्ध एक ठूलो द्वन्द्वको अंश हो जसमा अमेरिकाले चीनलाई राजनीतिक, आर्थिक र सैन्य रूपमा चुनौती दिइरहेको छ । अमेरिकाले चीनको स्थिति कमजोर पार्ने र चीनलाई आफ्ना सहयोगीहरूबाट अलग्याउने प्रयास गरिरहेको छ। यो अवस्थाले सम्भावित रूपमा अमेरिका र चीनबिच प्रत्यक्ष टकराब निम्त्याउन सक्छ र निकट भविष्यमा ठूलो जोखिम देखिन सक्छ।

प्रतिक्रिया दिनुहोस