aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एन्ड्रोइड मोबाइलको दुनियाँका दुई अद्भुत : कार्ल पे र नोथिंग फोन

  • नविन अधिकारी
    नविन अधिकारी
  • शनिबार, १३ साउन २०८०
एन्ड्रोइड मोबाइलको दुनियाँका दुई अद्भुत : कार्ल पे र नोथिंग फोन

करिब ३४ वर्ष अघि चीनमा जन्मेको एउटा केटो बाल्यकालमै बा-आमाको साथ लगेर अमेरिका पुग्यो। त्यस लगत्तै त्यो परिवार उत्तर युरोपेली मुलुक स्विडेनमा पुगेर रोकियो। त्यो फुच्चेले त्यही शिक्षा लियो, पछि त्यहीँको नागरिक बन्यो। अर्थशास्त्र पढ्न त्यहीँको विश्वविद्यालयमा भर्ना भयो तर टिक्न सकेन। त्यसको कारण थियो त्यसबेला गर्माएको प्रविधिको बजार जसमा उसले आफ्नो भविष्य देखेको थियो, सपना त्यसैमा केन्द्रित थियो । आफ्नो किशोर अवस्था पार गर्नासाथ त्यो केटो मोबाइल फोनको दुनियाँमा हाम फाल्यो। यहाँ कुरा गर्दै गरेको त्यो केटो हो, कार्ल पे (Carl Pei) जसलाई अहिले 'नोथिंग फोन' (Nothing phone) को सीइओको रूपमा चिन्न सकिन्छ। 

स्मार्टफोन आउनु भन्दा अगाडि संसारभर चर्चित ब्रान्ड थियो, नोकिया। संयोग कस्तो पर्‍यो भने नोकिया ब्रान्ड फिनल्यान्ड देशको थियो, कार्ल हुर्कँदै गरेको देश (स्विडेन) को छिमेकी देश। दिमागमा टेक्नोलोजी घुमिरहने कार्ल कलेज ड्रप गरेर नोकियामा काम गर्न थाले। 

नोकियामा काम गर्दै गर्दा बिस्तारै स्मार्टफोनको दुनियाँ सुरु हुन थाल्यो। उनी हङकङको एउटा स्मार्टफोन कम्पनी मेइजु (Meizu) को नजरमा परे । मेइजुले आफ्नो टिममा बोलायो। जतिसुकै चर्चित ब्रान्ड भए पनि नोकिया गिर्दै थियो, स्मार्टफोन अगाडि बढ्नेवाला थियो। त्यसैले सन् २०११ मा कार्ल जम्मा २२ वर्षको हुँदा फेरी जन्मभूमि चीनको माटो टेके, काम गर्न। 

असाधारण खुबी भएको मान्छे अक्सर अस्थिर हुन्छन्। किनकि खुबीले नै उसलाई एक पछि अर्को अझ उत्कृष्ट कामको सिर्जना गर्दछ। यो नियम उनलाई पनि लागू भयो। केही महिना मात्रै मेइजुमा मार्केटिङ क्षेत्रमा काम गरेपछि उनलाई त्यतिबेला चर्चित भैसकेको एउटा राम्रो एन्ड्रोइड मोबाइल कम्पनी ओप्पोमा काम गर्ने अवसर मिल्यो। त्यो पनि सीधा सिईओको अन्डरमा रहेर मार्केटिङ म्यानेजरको पदमा। 

ओप्पोले मोबाइल क्यामेरामा फोकस गर्‍यो। टेक्नोलोजीको दुनियाँमा आफूलाई "क्यामेरा फोन" भनेर चिनायो। यसले २२ बर्से कलेज ड्रप आउट कार्ललाई यस्ता ज्ञान दिँदै गयो जुन उनले विश्वको कुनै कलेजमा पाउनेवाला थिएनन्। अब स्विडीस नागरिक कार्ल आफ्नो जन्मभूमि चीनमा हुर्कँदै गरेको चर्चित ब्रान्डको जिम्मेवार पदमा काम गर्न थाले। उनले मार्केटिङमा काम गरे तर त्यो भन्दा धेरै धेरै सिके। मार्केटिङ त्यो पद हो जसले सीधा उपभोक्ताको गुनासो, सल्लाह र अपेक्षा सुन्छ अनि कम्पनीलाई आगामी योजनाको बारेमा सल्लाह दिन्छ। अब तपाईँले बुझ्न सक्नुहुन्छ कार्ल त्यतिबेला केको योजना बनाउँदै थिए। 

सन् २०१३ मा कार्ल २४ वर्ष पुगे। ओप्पोमा काम गर्न थालेको दुई वर्ष पनि पूरा भएको थिएन। उनको दिमागमा उनकै कम्पनीको अर्को चर्चित ब्रान्ड जन्मियो वान प्लस (Oneplus) यो ब्रान्ड ठ्याक्कै यसको सह-संस्थापक  (को फाउन्डर) कार्ल जस्तै भयो। उस्तै यस मानेमा की यो ब्रान्ड पनि उनी जस्तै चीनमा जन्मियो, युरोपमा हुर्कँदै गयो। कतिपयले यतिसम्म भने की वान प्लस बेलायतको ब्रान्ड हो। तपाईँ बुझ्न सक्नुहुन्छ युरोपमा यसको क्रेज। पद को- फाउण्डर भए पनि वानप्लसको डिजाइनदेखि मार्केटिङ पोलिसीसम्म सबै कार्ल नै बनाउँथे। 

अब कार्लले स्मार्टफोनको दुनियाँमा गर्न बाँकी केही रहेन। यदि तपाईँ पनि यही सोच्नुहुन्छ भने गलत सोच्दै हुनुहुन्छ। खासमा कार्लले स्मार्टफोनको दुनियाँमा अब केही सुरुवात गर्ने समय आएको थियो। आइडिया उनको, डिजाइन उनको, मार्केटिङ उनको अनि उनको नामको अगाडि चाहिँ किन को-फाउन्डर राख्ने? किन यो "को" नहटाउने? हो, अब समय आयो यो 'को' लाई डाँडा कटाउने। त्यो समय आजभन्दा करिब तीन वर्ष पहिला आएको थियो। अनि कार्लले वान प्लस  पनि छोडे। 

त्यसको केही महिना मै कार्लले तामझामको साथ लन्डनमा एउटा ब्रान्ड घोषणा गरे, 'नोथिंग'।  त्यसै साल यस ब्रान्डले तारविहीन इयरफोन (wireless airphone) को उत्पादन गर्‍यो। त्यसको एक सालमा अर्थात् सन् २०२२ मा यस ब्रान्डले आफ्नो पहिलो मोबाइल सार्वजनिक गर्‍यो  नोथिंग फोन १ (Nothing Phone 1) ।  नोथिंग फोनको पहिलो विशेषता भनेको यो महँगो एन्ड्रोइड फोन हो। कार्लले यसमा आफ्नो नोकिया,मेइजु, ओप्पो हुँदै वान प्लससम्मको सबै ज्ञान र अनुभव खर्च गरेका छन्। यो फोन हेर्दा आइफोन जस्तै देखिन्छ। आइफोन भन्दा पनि युनिक देखिन्छ। कार्लको ब्रान्डको प्रतीक्षामा रहेको यो स्तम्भकारले  प्री बुकिङ गरेर मात्रै यो फोन खरिद गर्ने मौका पाएको थियो । झन्डै एक वर्ष चलाउँदा पनि यो फोन कहिल्यै ह्याङ भएन, तातेन, फोटो राम्रो खिचिरह्यो, फोन एकदम स्पिडमा चलिरह्यो, ब्याट्री गज्जबको टिकीरह्यो, साउन्ड क्वालिटी पनि गज्जबको रह्यो, त्यो फोन चलाउँदा वरिपरिका मान्छेले यसको बनावटको बारेमा चासोको साथ हेरिरहे। सायद यिनै हुन्, यो फोनको विशेषता। 

"नोथिङ फोन किन महँगो?" भन्ने सवालमा भारतमा एउटा छलफल चलेको रहेछ। निष्कर्ष निस्कियो "कार्लको चतुर्यताले"। आफ्नो महत्त्वपूर्ण सिकाई नै ओप्पो र वान प्लस जस्ता चर्चित कम्पनीको मार्केटिङ म्यानेजर भएर बिताएका कार्लले मार्केटमा कौतुहलता बढाउनुमा बढी महत्त्व रहेछ भन्ने बुझे। त्यसैले उनले आफ्नो नोथिंग फोन सीमित परिमाणमा उत्पादन गर्ने र प्रीअर्डरमा बेच्ने जुक्ति लगाए। उनकै भनाइलाई विश्वास गर्ने हो भने यो मोडेल दश लाख गोटा भन्दा बढी बिक्री भयो। 

हालसालै यसको दोस्रो फोन "Nothing Phone 2" बजारमा आयो । मैले जस्तै पहिलो नोथिंग फोन बोक्नेले अवश्य सोचे होलान् -'अघिल्लो फोन बेचेर यसैको दोस्रो मोडल लिनुपर्ला'। तर, यही फोन गज्जब छ किन बेच्ने/ साट्ने? अब दोस्रो फोन आएपछि पहिलो फोनको मूल्य पनि अरू एन्ड्रोइड फोनको झैँ ह्वात्तै घट्ने होला भन्ने चिन्ता थियो। तर त्यस्तो भएन। नोथिंग २ को मूल्य यति बढी आयो की यसले नोथिंग १ को मूल्य घट्नै दिएन। अचम्मको कुरा के छ भने अहिले नोथिंग २ को प्री बुकिङ डिमान्ड पनि त्यस्तै धेरै छ, जस्तो पहिलोमा थियो । 

कार्लमा अलिकति एलन मस्क देखिन्छ, जो अफ्रिकामा जन्मेर अमेरिकामा पुगेर विश्वमा तहल्का मच्चाए, अब पृथ्वीभन्दा परसम्म तहल्का मच्चाउँदै छन्। कार्लमा थोरै मिन-लिआन तान (Min-Liang Tan) पनि झल्किन्छ जसले युवावस्थामा गेमिङ ब्रान्ड राजार ब्लेड (Razer Blade) बनाए, जसले गेमिंग दुनियाँको परिभाषा बदले । उनी चालीस नपुग्दै सिंगापुरको सेल्फ मेड बिनिनियर  (The youngest self-made Singaporean billionaire) बने। कार्लको नोथिंगले एन्ड्रोइड दुनियाँमा अर्को अध्याय लेख्न सक्ने देखिन्छ। 

चर्चित पुस्तक 'दि एल्केमिस्ट' मा लेखक पाउल कोइलोले लेखेका छन् : “Everything that happens once can never happen again. But everything that happens twice will surely happen a third time.” अर्थात् Nothing Phone 2 आउने अब निश्चित छ, नोथिङ रोकिनेवाला छैन। 

"कार्लले आफ्नो फोनको नाम यस्तो बेकार नोथिंग (Nothing) किन राखेको होला है? कसैले आफ्नो महँगो ग्याजेटलाई कसरी नोथिंग (Nothing) भन्न चाहन्छ ?" यो फोन बारेको संवादका क्रममा मैले सोधेको प्रश्नको जवाफ दिँदै एक जना विदेशी साथीले भनेको सम्झन्छु "कार्लले भन्न चहादैछन् अब एन्ड्रोइड मोबाइलमा अन्य ब्रान्ड उनका अगाडि केही होइनन्, नोथिंग (Nothing) हुन्।"

प्रतिक्रिया दिनुहोस