aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सावधान ! बजारमा अखाद्य वस्तु भित्रन थालिसक्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
सावधान ! बजारमा अखाद्य वस्तु भित्रन थालिसक्यो

बुटवल । दशैं, तिहारलगायत चाडपर्वहरू नजिकिदै गर्दा उपभोक्ताहरू किनमेलका लागि बजार धाउन थालेका छन् तर, यही बेला बजारमा अराजक गतिविधि बढेका गुनासा पनि सार्वजनिक भइरहेका छन् । विभिन्न नाममा मूल्य बृद्धि गर्ने, अखाद्य र गुणस्तरहीन सामग्रीको बेचबिखन गर्नेजस्ता कारणबाट उपभोक्ता ठगिएका
गुनासा बढेपछि प्रदेशका केही जिल्लामा बजार अनुगमनलाई तीव्र पारिएको छ ।

रुपन्देही, बाँके, प्युठानलगायतका जिल्लामा चाडपर्व लक्षित अनुगमन थालिए पनि कयौं जिल्लामा अझैसम्म पनि अनुगमनको सुरसार नै छैन । अनुगमन भएका ठाउँमा सुरुवातमै कतै अखाद्य वस्तु बिक्री भएको, मूल्य बढी लिएको, मूल्य सूची नराखिएको जस्ता कुरा भेटिएका छन् । बुटवलमा अखाद्य मासु भेटिन, नेपालगञ्जमा लेबल नै नभएका र म्याद गुज्रिएका पेय पदार्थ बिक्री हुनु यसका केही उदाहरण हुन् ।

प्रदेशका केही स्थानीय तहहरूले अनुगमनलाई तीव्रता दिएका छन् तर, कयौँ स्थानीय तह र जिल्ला प्रशासनबीच समन्वय हुन सकेको छैन । प्रभावकारी समन्वय नहुँदा
पनि कालोबजारीले प्रशय पाइरहेको अनुभव उपभोक्ताको छ । केही जिल्लाका प्रशासन अनुगमनको अधिकार स्थानीय तहमा रहेको भन्दै पन्छिने गरेका छन् भने केही स्थानीय तहहरू अनुगमनमा प्रशासनको पनि दायित्व हुने तर्क गर्दै आएका छन् ।  कतिपय स्थानीय तह र जिम्मेवार निकायहरूमा कर्मचारी अभाव पनि समस्या बन्ने गरेको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस