aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एलन मस्कले चीनको बाटो रोजेपछि अमेरिका तरंगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ साउन २०८०
एलन मस्कले चीनको बाटो रोजेपछि अमेरिका तरंगित

एजेन्सी । यसै साता एलन मस्कले ट्वीटरलाई ‘एक्स’ नामबाट रि–ब्राण्ड गरेका छन् । मस्कले ट्वीटरलाई चिनियाँ मेगा एप ‘वी-च्याट’को तहमा उठाउन खोजेको विश्लेषण गरिएका छन् । 

मस्कले यसअघि नै बारम्बार आफ्नो सोसल मिडिया कम्पनीलाई एक ठूलो प्लेटफर्ममा बदल्न चाहेको बताइसकेका छन् । उनले गत वर्ष ट्वीटर (जो अब एक्स भएको छ) लाई ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेका थिए ।

मस्क चिनियाँ वी-च्याटका प्रशंसक हुन् । एभ्रिथिङ ऐप वी-च्याटको तारिफ मस्कले पटकपटक गरिसकेका छन् । वी च्याट एपको एउटै प्लेटफर्मबाट च्याट, डेटिङ, पेमेन्ट र सोसल मिडियाको सुविधा प्राप्त गर्न सकिन्छ ।

मस्कले भनेका थिए कि उनी ट्वीटरलाई पनि वी-च्याट जस्तै बनाउन चाहन्छन् । यसो गर्दा निकै ठूलो सफलता हात पर्ने मस्कले बताएका थिए । 

यसै साता एक्स (ट्वीटर) मा लेखेको एक पोष्टमा मस्कले आउँदा महिनामा आफ्नो सोसल प्लेटफर्ममा प्रयोगकर्ताले सबै वित्तीय कारोबार गर्न पाउनेगरी फिचर थप्ने उल्लेख गरेका थिए । यसो गर्दा ट्वीटरलाई पर्याप्त आम्दानी हुने कम्पनीको आर्थिक स्थिति सुध्रने मस्कको अपेक्षा छ । 

मस्कले खरिद गरेपछि ट्वीटरमा विज्ञापनको कमाइ घटेर आधा भएको छ । नाम फेरेर एक्स बनाएपनि यसको मातृ कम्पनी निकै ठूलो ऋणमा फसेको छ । 

चीनबाट उधुम मच्चाइरहेको वी-च्याटलाई प्रख्यात प्रविधि कम्पनी टेनसेन्टले सन् २०११ मा लञ्च गरेको थियो । चीनमा रहेका करिब १ अर्ब ४० करोड जनसंख्यामध्ये अधिकांशले यो ऐप प्रयोग गर्ने गरेका छन् । वी-च्याटलाई सुपर एप भन्नु पनि यसलाई कम आँक्नु जस्तै भएको छ ।

चिनियाँ एभ्रिथिङ एपबाट प्रेरणा लिइरहेका मस्क

यतिखेर एलन मस्कले चीनको एभ्रिथिङ एपबाट प्रेरणा लिइरहेका छन् । वी-च्याटबाट एकैसाथ म्यासेज, भोइस र भिडियो कल, सोसल मिडिया, फूड डेलिभरी, मोबाइल पेमेन्ट, गेम्स, न्यूज तथा डेटिङ सर्भिस लिन सकिन्छ । 

यो यस्तो एउटा एप हो : जसभित्र ह्वाट्सएप, फेसबुक, एप्पल पे, अमेजन, टिन्डर लगायत सबै एप्सका सुविधा मिसाइएको जस्तो लाग्छ । वी-च्याट चिनियाँ समाजमा यो हदसम्म प्रयोग हुने गरेको छ कि त्यहाँ यो एप बिना जीवनकै कल्पना गर्न मुस्किल पर्छ । यसको अलग अलग भागमा विभिन्न इन्टरफेस सुविधा छ ।

वी च्याट पनि ह्वाट्सएप र आइम्यासेज प्लेटफर्म जसरी नै शुरु गरिएको थियो । यसमा च्याट र मोमेन्ट फिचर सबैभन्दा बढी प्रयोग हुने गरेको छ । च्याट्स ह्वाट्सएप जस्तै च्याटिङ प्लेटफर्म हो, जबकी मोमेन्ट्सले फेसबुकले झैं काम गर्छ । 

वी-च्याटको वालेट फिचर निकै प्रयोग हुने गर्छ । यसलाई डेबिट र क्रेडिट कार्डसँग जोड्न सकिन्छ । यतिखेर चीनका अधिकांश पसल र अनलाइन रिटेलर्सहरूले वी-च्याटबाट भुक्तानी लिने गरेका छन् । 

प्रयोगकर्ताहरूले क्यूआर कोड प्रयोग गरी यो एपमार्फत भुक्तानी गर्न सक्छन् । साथै घरेलु बिल भर्न पनि प्रयोग गर्छन् । वी-च्याटमार्फत ऋण लिन र लगानी गर्न पनि सकिन्छ । 

वी-च्याटमा चिनियाँ सरकारले दिने सुविधा पनि समावेश छ । यही एपबाट प्रयोगकर्ताले सामाजिक सुरक्षासँग जोडिएका जानकारी प्राप्त गर्नुका साथै टिकट बुक गर्न तथा अस्पतालमा समय लिन पनि सक्छन् । 

कोरोना महामारी फैलिएका बेला जब चीनमा शून्य कोभिड नीति अन्तर्गत प्रतिबन्ध लगाइएको थियो, जो त्यहाँका नागरिकका लागि अनिवार्य थियो । बाहिर जानुपरेमा वी-च्याटमा सृजना हुने स्वास्थ्यसंकेत (हेल्थ कोड) अनिवार्य थियो । कोड नभएसम्म चिनियाँहरू बाहिर निस्कन पाउँदैनथे ।

तर, एकैसाथ यो एपमा यति धेरै फिचर हुनुका केही बेफाइदा पनि छन् । फिचर धेरै भएका कारण यो एपले फोनको धेरै मेमोरी लिने गर्छ । डाटा स्टोरेजमा पनि यसले कयौं गिगाबाइट्स (जीबी) स्थान ओगट्छ । 

सेन्सरको संकट

चीनका मानिसहरूको जीवनका हरेक हिस्सामा जोडिइसकेको वी-च्याटमा सरकारले लगाउने गरेको प्रतिबन्धले चिन्ता बढाउने गरेको छ । सरकारी निगरानीका कारण गोपनीयताबारे पनि चिन्ता छ ।

चीनले कयौं विदेशी वेभसाइटसम्म पहुँच अवरोध गरेको छ । बीबीसी जस्ता न्यूज वेभसाइटदेखि फेसबुकस्ता सामाजिक मिडिया प्लेटफर्ममाथि पनि प्रतिबन्ध लगाएको छ । 

एलन मस्क एक्सलाई वी-च्याट बनाउन चाहन्छन् । तर, विडम्बना यो छ कि एक्स (ट्वीटर) लाई पनि चीन सरकारले प्रतिबन्ध लगाएको छ । इन्टरनेटमा सरकारले यो हदसम्म गरिरहेको नियन्त्रण ती मानिसहरूका लागि निकै खतरनाक छ : जो वी-च्याटमा सरकारविरुद्ध बोल्ने गर्छन् । 

यसैकारण सरकारप्रति असहमति राख्ने कयौं वी-च्याट खाताहरूलाई हप्तौंसम्म बन्द गरिदिनु सामान्य भैसकेको छ । च्याट या मोमेन्ट्समा सरकारविरुद्ध केही लेख्दा या बोल्दा यसो हुन सक्छ । यतिसम्म कि मानिसहरूलाई विवादित नलाग्ने जानकारी साझेदारी गर्दा पनि सरकारी सेन्सरको पकडमा आउने खतरा रहन्छ ।

एटलान्टिक काउन्सिलको ग्लोबल चाइना हबका सहायक निर्देशक किस लियाओका अनुसार वी-च्याटजस्ता सुपर एप मानिसहरूको जिन्दगीलाई नियन्त्रित गर्ने सरकारी अभिष्टको सहयोगी साधन बनिरहेको छ । एक त यो राजनीतिक जोखिमबाट स्वतः बच्ने सरकारको तरिका अर्थात, चिनियाँ सरकार र अन्ततः चिनियाँ कम्युनिष्ट पार्टीको सत्तालाई चुनौती नहुने बाटो भएको उनको भनाइ छ ।

पश्चिममा सफल होला ?

हङकङस्थित चाइनिज युनिभर्सिटीका कचेङ फाङले बीबीसीसँग भनेका छन् कि वी-च्याटको सफलतामा दुई कुराको भूमिका छ ।

चीनका धेरै मानिसले डेस्कटपको साटो स्मार्टफोनबाटै वी-च्याट चलाउने गर्छन् । कम्प्युटरको तुलनामा स्मार्टफोनमा वी-च्याटका सुविधा प्रयोग गर्न सजिलो पर्छ । 

चीनमा प्रतिष्पर्धा सम्बन्धित नियमन कमजोर छ । जब कि पश्चिमी देशमा यस्तो अवस्था छैन । चीनमा यस्ता नियमन कमजोर भएकै कारण वी-च्याटका लागि किनमेलका लागि ताओबाओ र भिडियो एप डुयुइनजस्ता प्रतिद्वन्द्वी प्लेटफर्म ब्लक गर्न वी-च्याटलाई सहज छ । 

के मस्कले चीन बाहिर काम गर्नेगरी वी-च्याटजस्तै एप बनाउन सक्छन् त ? आउँदा दिनमा नै यसबारे थाहा हुनेछ । तर, विशेषज्ञहरूले यी सबै काम विद्युतीय भुक्तानीमा निर्भर रहने बताएका छन् । 

पोलिसी रिसर्च फर्म ट्रिवियन चाइनाका केन्ड्रा सेफरका अनुसार चीनमा वी-च्याटलाई सफल बनाउने मुख्य विधिको पहिचान मस्कले गरिसकेका छन् । 

उनी भन्छन्, ‘मस्कले तीन चीज बुझिसकेका छन्, जसले चीनका मानिसहरूको दैनिक जीवनमा वी-च्याटलाई महत्वपूर्ण बनाउन भूमिका खेलेको छ । खासगरी वी-च्याटको सोसल मिडिया र विद्युतीय भुक्तानी सुविधाले नै यसलाई महत्वपूर्ण बनाएको छ ।’ 

कतिपय विश्लेषकहरूले चाहिँ एक्सलाई वी-च्याटजस्तै बनाउँदा पनि पश्चिमी समाज नगद र कार्ड रहित बन्न धेरै समय लाग्ने बताउँछन् । पश्चिमी मुलुकहरू भने मस्कले एक्सलाई चीनको वी-च्याटजस्तै एम्रिथिङ एप बनाउन खोज्दा तरंगित भएका छन्‌ ।

(बीबीसी हिन्दीमा प्रकाशित सामग्री अनुवाद र सम्पादन गरी तयार पारिएको ।)

प्रतिक्रिया दिनुहोस