
काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित भएको प्रक्षेपण गरेको सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।
सन् २०२३ मा विश्व आर्थिक गतिविधि संकुचित भई त्यसको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको हुँदा आर्थिक वृद्धि न्यून बनेको तर्क अर्थमन्त्री डा. प्रकाश शरण महतले यसअघि नै दिइसकेका छन् ।
तर, चालु आर्थिक वर्षमा भने त्यो कसरी बढ्ने अनुमान उनले गरे, त्यसको आधार भने कहीँ भेटिँदैन । किनकि अघिल्लो आर्थिक वर्षमा जस्तै विश्व अर्थतन्त्रले थप गहिरो सङ्कटको सामना गर्नुपर्ने स्थिति आउँदै गरेको अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले हालै सार्वजनिक गरेको आर्थिक वृद्धि प्रक्षेपणमा उल्लेख छ ।
गएको आर्थिक वर्षमा आर्थिक वृद्धिदरमा गिरावट आउनुको कारण उल्लेख गर्दै मन्त्री महतले भनेका थिए, 'अन्तरराष्ट्रिय आर्थिक परिवेश र संरचनात्मक समस्या, थोक तथा खुद्रा व्यापार, निर्माण र उद्योग मूलक उत्पादन लगायत समग्र आर्थिक क्रियाकलाप सङ्कुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि २.१६ प्रतिशत हुने अनुमान छ ।’ डा. महत कै भनाई पत्याउने हो भने अन्तरराष्ट्रिय स्तरमा अर्थात् विश्व अर्थतन्त्रमा सुधार नआउँदा त्यसको सीधा प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्छ । तर, चालु आर्थिक वर्षको बजेट बनाउँदा त्यो कुरा कसरी उनले भुले होलान् !
सन् २०२३ को लागि भन्दा ०.२ अङ्कले सन् २०२४ मा आर्थिक वृद्धि हुँदा ३ प्रतिशतको विश्वव्यापी वास्तविक जीडीपी वृद्धि हुने अनुमान गरिएको छ । आइएमएफले २०२२ मा भएको ३.५ प्रतिशतको वृद्धिलाई घटाएर सन् २०२३ को लागि २.८ प्रतिशतमा झारेको थियो ।
अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को पछिल्लो अनुमानले विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ को अन्त्यसम्म सुस्त हुने अनुमान गरेको छ। स्टाटीस्टामा मार्टिन आर्मस्ट्रङले रिपोर्ट गरे अनुसार तीन महिना अघि अप्रिलमा प्रस्ताव गरिएको भन्दा चाहिँ थोरै आशावादी बन्न सकिने देखिएको छ ।
सन् २०२३ को लागि भन्दा ०.२ अङ्कले सन् २०२४ मा आर्थिक वृद्धि हुँदा ३ प्रतिशतको विश्वव्यापी वास्तविक जीडीपी वृद्धि हुने अनुमान गरिएको छ । आइएमएफले २०२२ मा भएको ३.५ प्रतिशतको वृद्धिलाई घटाएर सन् २०२३ को लागि २.८ प्रतिशतमा झारेको थियो ।
स्टाटीस्टाले प्रकाशित गरेको क्षेत्रीय तथ्याङ्क हेर्दा उदीयमान र विकासशील एसियाको लागि उच्चतम वृद्धि दर पूर्वानुमान गरिएको देखिन्छ । यो क्षेत्रमा कुल ग्राहस्थ उत्पादन सन् २०२३ र सन् २०२४ मा क्रमशः ५.३ प्रतिशत र ५.० प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ।
अर्कोतर्फ, विकसित मुलुकको भने अवस्था निकै नाजुक रहने देखिएको छ ।अमेरिकाको आर्थिक वृद्धि यस अवधिमा द्रुत रूपमा घट्ने प्रक्षेपणमा देखिएको छ । सन् २०२२ मा २.१ प्रतिशतबाट त्यो सन् २०२४ मा १.० प्रतिशतमा झर्ने अनुमान छ ।
समग्रमा सबै विकसित अर्थतन्त्रहरूमा यस्तो स्थिति देखा पर्ने अनुमान गरिएको छ । विकसित राष्ट्रहरूको औसत आर्थिक वृद्धिदर सन् २०२२ मा २.७ प्रतिशतबाट सन् २०२४ मा १.४ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ।
यस्तो सुस्त वृद्धिमा योगदान पुर्याउने एउटा प्रमुख विकसित मुलुक जर्मनी हो, जहाँ सन् २०२३ मा ०.३ प्रतिशतको मात्र जीडीपी वृद्धिको पूर्वानुमान गरिएको छ।
आइएमएफका अनुसार विकसित मुलुकहरूमा देखिएको यो सङ्कुचन ‘सन् २०२३ को पहिलो त्रैमासिकमा उत्पादनमा देखिएको कमजोरी र आर्थिक सङ्कुचन’ को परिणामस्वरूप देखा पर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस