महोत्तरी । जनचेतना कार्यक्रम सञ्चालनको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग १ लाख २५ हजार रुपैयाँ घुस लिएका महोत्तरी, सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भुक्तानी दिने क्रममा घुस मागेको सूचना पाएपछि अख्तियारको बर्दीवास कार्यालयबाट खटिएको टोलीले राउतलाई १ लाख २५ हजार घुससहित गत असार २० गते पक्राउ गरेको थियो । राउतले कोरोना महामारीसम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी दिने क्रममा घुस खाएका थिए ।
निज राउतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो १ लाख २५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय माग गरिएको छ ।
गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई सोमबार विशेष अदालत, काठमाडौंमा अख्तियारले आरोपपत्र दायर गरेको हो ।
प्रतिक्रिया दिनुहोस