
काठमाडौँ । नेपालको व्यापार घाटा अत्यन्तै उच्च रहेको बेला सेवा निर्यात मार्फत उल्लेख्य विदेशी रकम नेपाल भित्रिएको तथ्य फेला परेको छ । यहीँ बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेको आइटी जनशक्तिले वार्षिक ६७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको एक अध्ययनले देखाएको हो ।
नेपाल सरकारले आइटी क्षेत्रलाई नीतिगत रुपमा प्रश्रय दिने भने पनि व्यवहारिक रुपमा भने हेला गर्दै आएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवा जनशक्तिलाई नेपालमा नै अड्याउने कुनै कार्यक्रम सरकारले अघि बढाउन सकेको छैन । नत आइटी पार्क नै सञ्चालनमा ल्याएको छ । तर, त्यही क्षेत्रले भने अनपेक्षित रुपमा उल्लेख्य मात्रामा विदेशी मुद्रा नेपाल भित्राएको इन्स्टिच्युट फर इन्न्टिग्रेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले गरेको एक अध्ययनले देखाएको हो ।
नेपालका करिब साढे ६६ हजार आइटी जनशक्तिले सन् २०२२ मा मात्र ६७ अर्ब ६७ करोड ५० लाखको हाराहारीमा अर्थात् ५१५ मिलियन अमेरिकी डलर आम्दानी गरेको देखिएको हो । अध्ययन रिपोर्टका अनुसार सन् २०२० मा नेपालमा भएका आइटी कम्पनीले ८८ मिलियन अमेरिकी डलर (एक अर्ब १५ करोड ५४ लाख रुपैयाँ बढी) आम्दानी गरेका थिए । उक्त आम्दानी २६.८ प्रतिशतले बढेर २०२१ मा १११.५ मिलियन डलर (१४ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ) पुगेको थियो ।
रिपोर्टले सन् २०२२ मा सूचना प्रविधि सेवा निर्यातबाट देशको कुल गार्हस्थ्य उत्पादनमा १.४ र वैदेशिक लगानी सञ्चितिमा ५.५ प्रतिशत योगदान देखिएको बताएको छ । यसरी हेर्दा नेपालको सूचना प्रविधिको क्षेत्र विदेशी मुद्रा आम्दानीको एक महत्त्वपूर्ण स्रोत बन्न सक्ने देखिएको छ ।
अध्ययन प्रतिवेदनले सन् २०२२ सम्म नेपालमा ७ हजार ६ सय ३७ वटा आइटी कम्पनीमध्ये १ सय ६ वटाले सेवा निर्यात गर्ने र यसमा १४ हजार ७ सय २८ फ्रिलान्सरसहित ६६ हजार ५ सय ९ जना आइटीसम्बन्धी काम गर्ने जनशक्ति रहेको उल्लेख गरेको छ ।
सन् २०२२ मा यस्तो आम्दानी ३२ प्रतिशतले बढ्दा आइटी फ्रिलान्सरबाट हुने आम्दानी ६९.६ मिलियन डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, २०२० मा सूचना तथा प्रविधिमार्फत सेवा दिने फ्रिलान्सरले १७७.१ मिलियन डलर आम्दानी गरेका थिए । उक्त आम्दानी २०२१ मा १५.५ प्रतिशतले घट्दा १४९.७ मिलियन डलर (पुगेको थियो । तथ्याङ्क अनुसार सन् २०२२ मा भने आईटीईसी फ्रिलान्सरको आम्दानी ६३.४ प्रतिशतले बढ्दा २४४.५ मिलियन डलर पुगेको थियो ।
सूचना प्रविधिको क्षेत्रमा नेपालबाट निर्यात हुने सेवाहरूमा प्रोग्रामिङ, कोडिङ, डिजाइनिङ, सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ मुख्य रहेको प्रतिवेदनमा औँल्याइएको छ । यस्तो काममध्ये ७८ प्रतिशतले प्रोजेक्टमा आधारित हुने गरेको प्रतिवेदनले जनाएको छ ।
यसरी सेवा दिनेमा १०६ आइटी सेवा निर्यात गर्ने कम्पनी, १४ हजार ७२८ आइटी फ्रिलान्सर (सफ्टवेयर डेभलपमेन्ट एन्ड टेक्नोलोजी) र ५१ हजार ७८१ आईटीईएस फ्रिलान्सर (जसले विभिन्न डिजिटल प्लेटफर्मबाट आइटी सेवा निर्यात गर्छन् ।) रहेका छन् । यो रकम अघिल्ला वर्षहरूको तुलनामा ६४.२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस