aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘राजनीतिक/प्रशासनिक क्षेत्रको फोहोरमैला हटाउनुपर्छ’ : मन्त्री मोदी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ साउन २०८०
‘राजनीतिक/प्रशासनिक क्षेत्रको फोहोरमैला हटाउनुपर्छ’ : मन्त्री मोदी

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक र प्रशासनिक क्षेत्रको फोहोरमैलालाई सफा गर्न आवश्यक रहेको बताएका छन् । फोहोरमैला व्यवस्थापन सम्बन्धी कानूनको अन्तिम मस्यौदा तयारीका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

‘राजनीतिक तह र प्रशासनिक क्षेत्रमा पनि फोहोरमैला छ, यसलाई पनि सफा गर्नुपर्नेछ’ मन्त्री मोदीले भने, ‘सुन काण्ड, ललिता निवास काण्डदेखि भुटानी शरणार्थीसम्मको फोहरको व्यवस्थापनका लागि सरकारले आफ्नो ढंगबाट काम गरिरहेको छ ।’ 

उनले फोहोरमैला व्यवस्थापनका लागि मन्त्रालयले कानून निर्माणका काममा अन्तिम चरणमा पुर्‍याएकाले मौजुदा कानूनमा उचित सुझाव दिन समेत आग्रह गरे ।  सबैका सुझावलाई समेटिएर नै कानून निर्माण गर्ने आफ्नो सोच रहेको उनको भनाइ थियो । 

मन्त्री मोदीले फोहोरलाई मोहोर बनाउने अभियान थाल्नेतिर ध्यान दिनुपर्ने पनि बताए । ‘फोहोरलाई कसरी बुहउपयोगी बनाउने भन्ने सन्दर्भमा पनि हामीले ध्यान दिनुपर्छ । फोहोरलाई उद्योगको रुपमा समेत कसरी विकास गर्ने भन्नेतिर ध्यान दिएर काम गर्न जरुी छ,’ उनले भने ।

मन्त्री मोदीले प्रशासनिक क्षेत्रको सुधारदेखि ऐन निर्माणसम्मका कामहरूमा मन्त्रालयले ध्यान दिइरहेको बताए । मन्त्रालयले संघीय निजामती सेवा ऐन, फोहोरमैला व्यवस्थापनसम्बन्धी कानून, ढुंगा गिट्टी बालुवासम्बन्धी कानून निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको समेत उनले बताए । 

त्यस्तै, मन्त्री मोदीले दुर्गम क्षेत्रका कर्मचारीहरूलाई न्याय दिलाउने गरी सरुवा प्रणाली व्यवस्थित बनाउन लागेको समेत जानकारी गराए । ‘दुर्गममा रहेका साथीहरू जहिले पनि अन्यायमा छन् । पहुँच नभएकै कारणले विकटका विकट क्षेत्रमा मात्रै रहनुपर्ने बाध्यता अब अन्त्य हुन्छ’ उनले भने, ‘दुर्गमका जनताले पनि सेवा पाउनुपर्छ, उनीहरूलाई सेवा प्रदान गर्नका लागि सुगम क्षेत्रमा लामो समय बसेका कर्मचारीहरूलाई खटाउँछौँ ।’

प्रतिक्रिया दिनुहोस