aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चीनको ऋणबारे पाकिस्तानी सेना प्रमुखले भने, ‘सधैं मागेर निर्वाह हुँदैन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ साउन २०८०
चीनको ऋणबारे पाकिस्तानी सेना प्रमुखले भने, ‘सधैं मागेर निर्वाह हुँदैन’

एजेन्सी । पाकिस्तानी सेना प्रमुख सैयद असिम मुनीरले चरम आर्थिक सङ्कट झेलिरहेको आफ्नो मुलुक आत्मनिर्भर बन्न अति आवश्यक भएको बताएका छन्‌ । साथै उनले सधै मागेर निर्वाह नहुने बताएका छन्‌ । 

पाकिस्तानको सर्वकालीन मित्र चीनबाट अर्को ऋण प्राप्त हुन लागेका बेला सैन्य प्रमुख मुनीरको यो भनाई सार्वजनिक भएको हो । पाकिस्तानले हालै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट पनि केही ऋण प्राप्तिको सुनिश्चितता गरेको छ । 

सोमबार खानीवाल मोडल कृषि फार्मको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका सेना प्रमुख मुनिरले पाकिस्तानीहरू देशको गर्व, जोश र जाँगर भएका प्रतिभाशाली नागरिक भएकाले  ‘भिखारीको कचौरा फालेर’ आत्मनिर्भर हुनैपर्छ भने । सहयोग मागेरमात्र निर्वाह नहुनेमा जोड दिँदै उनले भीक्षा माग्ने कचौरा फाल्नुपर्ने बताएका हुन्‌ । 

सुरक्षा र अर्थतन्त्र एक-अर्कासँग गाँसिएका र अपरिहार्य रहेका उल्लेख गर्दै उनले ईश्वरको आशीर्वाद पाएको पाकिस्तानलाई संसारको कुनै पनि शक्तिले प्रगति गर्नबाट रोक्न नसक्ने बताए । साना किसान लाभान्वित हुने गरी हरित क्रान्तिसँगै  कृषि क्रान्ति अपरिहार्य भएको उनको कथन थियो । 

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले हालै दिएको जानकारीअनुसार चीनबाट पाकिस्तानले ६० अर्ब अमेरिकी डलर अतिरिक्त ऋण प्राप्त गर्दैछ ।

आइएमएफबाट पनि पर्याप्त रकम  ऋणस्वरुप प्राप्त हुँदैछ । नौ महिनामा सुधारका समग्र कार्यक्रम कार्यान्वयन गर्नुपर्ने शर्तका साथ तीन अर्ब अमेरिकी डलरको प्याकेज उक्त वित्तीय संस्थाबाट प्राप्त हुँदैछ । 

यो वर्षको जुलाईसम्ममा पाकिस्तान सरकारको ऋण २ अर्ब ४४ करोड अमेरिकी डलर पुगेको छभने चीनसँगको २.०७ अर्ब अमेरिकी डलर छ ।

प्रतिक्रिया दिनुहोस