काठमाडौं । परराष्ट्र मन्त्रालय युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजान आग्रह गरेको छ । विदेशी सेनामा नेपाली सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
‘कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजानुहुन सबैमा अनुरोध गरिन्छ । यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइ प्रति सजग रहन समेत सबैमा सूचित गरिन्छ’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा नेपाली नागरिकहरू विदेशी सेनामा भर्ना भएका भन्ने समाचार बाहिर आएका छन् । यस सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी नेपाल सरकारको नीति रहेको छैन ।
प्रतिक्रिया दिनुहोस