
यस्तो लाग्छ : दुनियाँ एउटा बाटोमा हिँड्दै छ, अनि नेपाल अर्को बाटोमा ! माथि देखिएको र समाचार भित्र राखिएका तस्बिरहरू बितेका चौबीस घण्टा भित्र विभिन्न चार देशका खबरहरूको स्क्रीनसटहरु हुन् । ती प्रतिनिधिमूलक तस्बिर मात्र हुन् जसले समग्रमा खासमा हामी कसरी उल्टो कुरा सोच्दैछौँ भन्ने कुरा दर्साउन दर्पणको रुपमा काम गर्छन् ।
पहिलो तस्बिर भियतनामको एक मिडियाको हो। त्यहाँको विंह फुच प्रान्त (Vinh Phuc Province) ले यहि साल अहिलेसम्ममा १५ ओटा प्रत्यक्ष वैदेशिक लगानी (Foreign Direct Investment) प्रोजेक्ट ल्याइसकेको बताउँछ।
यस्तो लगानीको परिमाण २३० मिलियन डलर भन्दा माथि भएको, एलजी कम्पनीले एक बिलियन डलर लगानी थप गरेको लगायतको समाचार रहेछ त्यहाँ। भियतनामले इलेकट्रोनिक्स, जुत्ता, लत्ताकपडा लगायतका क्षेत्रमा चर्चित ब्रान्डहरू भित्राउन सफल छ । ऊ यस काममा अझ अगाडि बढ्दै छ।
दोस्रो तस्बिर हो, बङ्गलादेशको एउटा सञ्चार माध्यममा प्रकाशित समाचारको। त्यहाँ भनिएको छ यस वर्षको "रोड सो" अफ्रिकी र केही युरोपेली मुलुकमा देखाइने भएको छ। यी 'रोड सो'मा बङ्गलादेश सरकारका निकायहरूले विभिन्न देशका लगानीकर्तालाई आफ्नो देशमा लगानी गर्दा हुने फाइदाहरू, पाइने कर छुट, राज्यले गर्ने सहयोग लगायतका जानकारी दिइनेछ।
बङ्गलादेश सरकारले विदेशी लगानीकर्तालाई आकर्षित गर्न कुनै कसर बाँकी राखेको छैन। त्यसैले त आज पश्चिमा देशका सपिङ मलमा छिरेर कपडाको ट्याग हेर्दा "मेड इन बङ्गलादेश" लेखेको देखिन्छ।
तेस्रो तस्बिर भारतीय मिडियाको हो, जहाँ टेस्ला र मेक इन इन्डिया शब्दलाई एउटै शीर्षकमा राखिएको छ। यो मोदीको सपना हो। यो त्यहाँका विपक्षीको पनि सपना हो। यो पूरा भारतको सपना हो।
टेस्ला, एप्पल जस्ता ब्रान्डलाई उनीहरूको योजना "मेक इन इन्डिया" सँग मिलाउन चाहन्छ, भारत।
भारतले विदेशी लगानी/ब्रान्ड आफ्नो देशमा भित्राउन कर छुट, निःशुल्क जग्गा अरू केके दिएको छ, यसबारे पर्याप्त रुपमा नेपाली मिडियाहरूले चर्चा समेत गरिसकेका छन्। भारत यो सबै किन गर्दै छ भने उसलाई विदेशी ब्रान्डमा "मेड इन इन्डिया" लेखाउनु छ।
चौथो तस्बिर स्वदेशी हो । हाम्रा प्यारा रबि दाई (रवि लामिछाने)को फेसबुक पोस्टको । उनले विदेशमा रहेका सय जना नेपालीलाई स्वदेशमा ल्याउने र जागिर दिने विषयको पोस्ट हो यो। उनी बेलाबेलामा विदेशमा रोजगारीमा रहेका नेपालीलाई नेपाल फर्काउने कुरा गर्छन्।
तर, उनले कहाँ के कस्तो काम दिन खोजेका हुन् ? के अहिले नेपालमा रहेका सबैले रोजगार पाईसके ? नत्र यहि रहेकालाई रोजगार नदिएर किन आफैँ टिकट काटेर रोजगारी दिन ल्याउनुपर्ने ? यस्ता धेरै प्रश्नको जवाफ शायद उनलाई दिनु छैन ।
धेरै कुरा सेक्रेट राख्न सक्ने उनले कहाँको पैसामा कस्तो उद्योग खोले होलान् ? एकपल्ट विदेश नटेकेकाले काम नै पो गर्ने नसक्ने भएर उतैबाट झिकाउनु पर्ने भएको हो कि ? यावत् प्रश्नको जवाफ खोज्ने दायित्व पुर्व 'सञ्चारकर्मी' रवि दाइले नै थपिदिएपछि कहिले मौका पाउलान् ती भियतनाम, बङ्गलादेश र भारत जस्ता नजिकैका छिमेकीहरूले लेखे झैँ समाचार लेख्ने मौका नेपाली मिडियाले ?
बरु, आज चुनाव जितेको १०० औँ दिनको अवसरमा दिनभर आफुले फेसबुक पोस्ट गरिरहने भन्दै त्यसलाई पच्छ्याउन उनले गरेको उर्दीको पछि लागेका छन् मिडियाहरू । एउटा सशक्त पार्टीका अध्यक्षको पोस्ट बेवास्ता गर्दा कुनै 'ब्रेकिंग न्युज' नै छुट्ने पो हो कि भन्ने चिन्ताले सताइरहेको छ मिडियाकर्मीहरूलाई । उनले केही गर्लान्, भन्लान् वा देखाउलान् भन्ने आशामा बसेका धेरै पत्रकारहरू आधा दिन सम्म समाचार लेख्ने 'कन्टेन्ट' नपाएर बेरोजगार भने बनिसकेका छन् ।
भिडियो हेर्न र उनका कुरा सुन्न यो लिंकमा जानुहोस्
यो पाँचौँ तस्बिर पनि हाम्रै विद्वान नेता रवीन्द्र मिश्रको पोस्टको स्क्रिनशट हो। बच्चालाई बाले सुटुक्क "मेरो माया लाग्छ कि तिम्रो आमाको?" भनेर सोध्दा बच्चाले वरिपरि हेरेर आफ्नो आमा त्यहाँ नभएको देखेपछि बाऊको मुखमा हेरेर "हजुरको" भन्दा मख्ख परेको बाऊ झैँ देखिन्छन्, रवीन्द्र सर। यदी यो लिंकमा गएर उनका कुरा सुन्ने हो भने।
चुनाव मात्रै नजित्ने हुन् उनी, 'दिल जित्न' माहिर छन् । "नेपाली युवाहरूलाई विदेश जान नपर्ने बनाउँछौँ" भन्ने उनको उद्घोषले दिल झ्याप्पै जित्छ। तर, रवीन्द्रले पनि रविले झैँ "के गर्यो भने युवालाई नेपालमा टिकाउन सकिन्छ?" भन्ने योजना गोप्य नै राखेका छन्।
त्यसैले युवालाई नेपालमा नै टिकाउने उपाय र योजना बारे समाचार बनाउन नसकेका नेपाली मिडियाहरू बाध्य भएर "फलानो खलकलाई देशको अभिभावक बनाउनु पर्ने" उनको माग कै सञ्चार लेख्न बाध्य छन् ।
यी पाँच पोस्टहरू सबै चौबीस घण्टा भित्रका हुन्। यदि यस सालभरिका पोष्टका स्क्रिनशट हेर्ने हो भने देखिने चित्रमा देशमा केही गर्छु भन्ने युवाले केही सीप नलागेर आफ्नो शरीरमा आगो झोसेको, सबै मापदण्ड पूरा भएर देशका हजारौँ नागरिकलाई रोजगार दिन तयार व्यवसायीले राज्यबाट सम्बन्धन नपाउँदा अर्बौँको संरचना बेकामे भएको लगायतका टिठलाग्दो सत्य भेटिन्छन् ।
देशमा पशुपालन गर्ने युवाले सयौँ पशु मरेपछि खाल्टोमा पुरेर पुरै शून्यमा झरेको लगायतका पोस्टहरू पनि त्यहाँ अवश्य हुनेछन् । अनि किसानले तरकारी सडकमा फालेका र दूध नालामा पोखेका बिरक्तलाग्दा तस्बिर त झन् कति हो कति ।
तर, जति खोजे पनि माथि उल्लेखित देशहरू (भियतनाम, बङ्गलादेश, भारत) का सेलिब्रिटी नेताहरूले "म आफ्ना देशका युवा विदेश पठाउँदिन" या "विदेशमा रहेका नागरिकहरू फिर्ता आउनुस्, म एयरपोर्टमा लिन आउँछु" भनेर भाषण गरेको पक्कै भेटिँदैन होला।
बरु, ती 'मूर्खहरू'ले उल्टो विदेशी व्यवसायीलाई "तपाईँ हाम्रो देशमा आएर लगानी गर्नको लागि हामीले के गर्न सक्छौँ?" भनेर सोधेका प्रशस्त उदाहरण र प्रमाण भने फेला पर्ने छन् ।
प्रतिक्रिया दिनुहोस