aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अस्पतालको शय्यामा पूर्वमन्त्री तीर्थराम: न राज्यको ढुकुटी ताके, न त विदेश गए !

  • रिता राउत
    रिता राउत
  • विहीबार, १८ साउन २०८०

सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् । लामो समयदेखि मृगौला र मूत्ररोगसँगै क्यान्सरको उपचार गराइरहेका उनी पाँच दिनयता धापाखेल ललितपुरमा रहेको सुमेरु किड्नी अस्पतालमा उपचाररत छन् ।      

ठूला नेताले नेपालमा उपचार नै नगराउने, यदि गराइहाले पनि सरकारी खर्चमा महँगा र सुविधासम्पन्न भनिएका अस्पतालको सेवा लिने आम प्रवृति रहेका बेला डंगोल अपवादका रूपमा देखा परेका छन् । कोखाको उपचार गराउन भन्दै एअर एम्बुलेन्सबाट भारत उडेका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले हालै राज्यको ढुकुटीबाट ५५ लाख २ हजार २७९ रुपैयाँ खर्च गराइदिएका थिए । नागरिक स्तरबाट आलोचना भएपछि पौडेलले उपचार खर्च आफैं ब्यहोर्नेसम्मका प्रचार पनि गराए । तर, अन्तत: नागरिकले तिरेको कर जम्मा भएको सरकारी ढुकुटीकै रकम उनले उपचारबापत बुझे ।

त्यसैगरी, पार्टीले उपचार खर्च व्यहोर्ने निर्णय गरेका एमाले नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको भारतको राजधानी नयाँ दिल्लीमा भएको उपचार खर्च समेत नेपाल सरकारले दुई वर्ष अघि क्याबिनेट निर्णय गर्दै व्यहोर्ने निर्णय गर्यो।  राज्यले  उनको उपचार खर्च वापत ३१ लाख भुक्तानी गरेपछी सो कार्य गैरकानुनी भएको दलिल सहित अदालतमा मुद्दा समेत परेको थियो । 

दुई वर्ष अघि नै एक रिपोर्ट सार्वजनिक भएको थियो, जसमा नेपालका नेताहरुको उपचार खर्चमा बितेको दशकमा १० औँ अर्ब राज्यकोषबाट खर्च भएको देखाइएको थियो । त्यसयता राज्यकोषबाट नेताले उपचार खर्च लिने विषय संधै विवादमा आउने गरेपनि त्यसको बेवास्ता गर्दै खर्च लिने काम नेताहरुले निर्लज्ज ढंगले जारी राखेका छन् ।

तर, तीर्थरामको हकमा यस्तो भएको छैन । उपचारका लागि उनले न राज्यसँग सहयोग मागे, न त दिएको नै लिए । पूर्वमन्त्री भएकोले उनलाई नेपाली कांग्रेसका नेताहरूले समेत राज्यबाट उपचारको लागि खर्च दिलाइदिने भनेका थिए । तर, उनी मानेनन् ।

पञ्चायतकालमा उनी काठमाडौं महानगरपालिकाको उपमेयर थिए । जसले गर्दा काठमाडौं महानगरपालिकाले समेत उनको उपचार खर्च व्यहोर्ने प्रस्ताव गर्‍यो, तर त्यो पनि उनले स्वीकारेनन् । हाल डंगोलले आफ्नै खर्चमा उपचार गराइरहेका छन् ।    

‘शेखर कोइरालाले उपचारको लागि दिल्ली जाने कि भनेका थिए । मैले नेपालमै उपचार गर्छु भनें । पार्टी सभापति शेरबहादुर देउवाले पनि के सहयोग गर्नुपर्छ भनेर सोधेका थिए । मैले केही सहयोग लिन्न भन्दिएँ । काठमाडौं महानगरपालिकालाई पनि सहयोग लिन्न भन्दिएँ । आफ्नै खर्चमा उपचार गराइरहेको छु’, उनले सुनाए ।  

नेपालमै उपचार गर्न सबै दलका नेताहरूलाई आग्रह गर्दै उनले थपे, ‘तिमीहरू उपचारको लागि बाहिर नजाऊ । जुनसुकै रोगको उपचार गर्न पनि नेपालमै सम्भव छ । यहीँ उपचार गर; त्यो पनि सकेसम्म आफ्नै खर्चमा उपचार गराउनुपर्छ । राज्यको पैसा दुरुपयोग गर्न हुँदैन ।’

पर्याप्त पहुँच र अनेकौं सम्भावनाबीच पनि उनले नेपालमै; त्यो पनि आफ्नै खर्चमा उपचार गरेर एकैसाथ दुईवटा सन्देश प्रवाह गर्न चाहेको बताए । अस्पतालको बेडबाटै उनले भने, ‘नेपालको आर्थिक अवस्था असाध्यै दयनीय अवस्थामा छ । तर, पनि सरकारको आर्थिक दुरुपयोग गर्ने क्रम रोकिएको छैन । म एक्लैले उपचार खर्च राज्यबाट लिन्नँ भन्दैमा देशको आर्थिक अवस्था सुधार त हुने होइन, तर सकेसम्म आफैँले उपचार खर्च ब्यहोरेर नेपालमै उपचार गर्नु पर्छ भन्ने सन्देश दिन चाहेको हुँ । यसमा पनि क्यान्सर जस्तो जटिल रोगको काठमाडौंमै उपचार गर्न सम्भव छ भनेर सन्देश पनि दिन चाहेको हुँ ।’ 

‘म सरकारी सहयोग पनि लिन्नँ, विदेश पनि उपचार गर्न जान्नँ । नेपालमै उपचार गर्छु भनेर यहाँ उपचार गराएको हो’, उनले आफ्नो उपचारमा संलग्न चिकित्सक डा. विजयमानसिंह कटुवालतर्फ इंकित गर्दै उल्टै प्रश्न गरे, ‘उहाँहरूजस्ता डाक्टर नेपालमै छन् । अनि किन विदेशमा उपचार गर्न जाने ?’  

नेपालमै उपचार गर्न सबै दलका नेताहरूलाई आग्रह गर्दै उनले थपे, ‘तिमीहरू उपचारको लागि बाहिर नजाऊ । जुनसुकै रोगको उपचार गर्न पनि नेपालमै सम्भव छ । यहीँ उपचार गर; त्यो पनि सकेसम्म आफ्नै खर्चमा उपचार गराउनुपर्छ । राज्यको पैसा दुरुपयोग गर्न हुँदैन ।’  

उनका भतिजा समिर डंगोलका अनुसार नेता डंगोल पिसाबथैलीमा भएको क्यान्सरको उपचार गराइरहेका छन् । गत चैत्रमा उनको अपरेसन गरिएको हो । जुन अपरेसनपछि उनी सात दिनमै निको भएर घर फर्किएका थिए ।    

डंगोललाई अहिले सोडियमको कमी भएकाले अस्पताल भर्ना गरिएको हो । उनी अस्पताल भर्ना भएको पाँच दिन भयो । स्वास्थ्यमा सुधार भइरहेकाले एक दुई दिनभित्र डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।  

‘आफ्नो उपचारको लागि कहिले पनि राज्यको कोष नचलाउने र स्वदेशमा नै उपचार गर्छु भनेर उहाँले पहिलेदेखि नै भन्दै आउनुभएको थियो । त्यसैले पनि हामीले उहाँको नेपालमै आफ्नै खर्चमा उपचार गराएको हो,’ उनले भने ।  

उनको उपचार मूत्ररोग विशेषज्ञ तथा मृगौला प्रत्यारोपण सर्जन डा. विजयमानसिंह कटुवालको टीमले गरिरहेको छ । उनीसँगै डा. ललितकुमार यादव, डा. कमल, अशोक, रमनी लगायत डंगोलको उपचारमा खटिएका छन् ।   

नेपालमै सस्तो मूल्यमा गुणस्तरीय सेवा पाइने बताउँदै उनले भने, ‘यहीँ पाँचदेखि ६ लाख रुपैयाँसम्ममा निको भएर घर जान सकिने रहेछ । तर, यही उपचार गर्न भारतमा १२ हजार अमेरिकी डलरभन्दा धेरै लाग्ने रहेछ : त्यो पनि अस्पतालको चार्ज मात्रै ! त्यो बोहक जान आउन, खान र बस्नको खर्च त छुट्टै भइहाल्यो ।’  

सिनियर कन्सल्टेन्ट, युरोलोजिस्ट तथा किड्नी ट्रान्प्लान्ट सर्जन समेत रहेका डा. विजयमानसिंह कटुवालका अनुसार डंगोल विगत तीन वर्षदेखि फलोअपमा थिए । सुरुमा उनको पिसाबमा रगत देखापर्‍यो भनेर डा. कटुवाल कहाँ पुगेका थिए । अल्ट्रासाउन्ड गराएर हेर्दा पिसाब थैलीमा मासु पलाएको देखियो । त्यो मासु खुर्किएपछि मात्रै क्यान्सर हो कि होइन भनेर जानकारी हुने हो । त्यसपछि पेट स्क्यान गर्दा क्यान्सर हो कि भन्ने देखियो ।  

धेरै नेताहरू उपचारको लागि विदेश जाने भएकोले डंगोल पनि अपरेसनका लागि विदेश नै जाने हुन् कि भन्ने डाक्टरहरूलाई लागेको थियो । तर, डंगोलले नेपालमै अपरेसन गर्ने भनेर आग्रह गरेपछि यहीँ अपरेसन गरिएको उनले सुनाए ।  

‘जे गर्छु नेपालमै गर्छु । उहाँले जसरी गर्नु हुन्छ हुन्छ । मलाई भारततिर पठाउनु पर्दैन भनेर भन्नुभयो’, डा. कटुवालले भने, ‘मैले भारतमा रिपोर्ट पठाएँ र क्यान्सर नै हो भन्ने यकिन भयो । त्यसपछी हामीले अपरेसन गर्यौँ गर्‍यौं।’   

डा. कटुवालका अनुसार उनको क्यान्सरको अपरेसन ठूलो खालको अपरेसन मध्येको हो । जसमा पिसाबथैली पूरै निकालिएको छ । हाल सानो आन्द्रालाई नै पिसाबथैली जस्तो बनाएर मृगौलाबाट आउने पाइप त्यसमा जोडिएको छ ।   

नेपालमा उपचार सम्भव हुँदाहुँदै विदेश उपचार गराउन जानुको पछाडि नेपालमा विश्वास कम भएर हुनसक्ने उनले बताए । डा. कटुवालले भने, ‘तालिम, अनुभव, सेवा जुनसुकै कुरामा पनि हामी अन्य देश भन्दा कम छैनौं । छिमेकी मुलुकको तुलनामा नेपालमा डाक्टरको शुल्क नै पनि सस्तो रहेको छ । यो लगायत हामीले सबै हिसाबले सस्तोमा राम्रो सेवासहित नेपालमै उपचार सेवा दिइरहेका छौँ । निर्धक्क भएर नेपालमै उपचार गर्न सकिन्छ । विदेश नै दौडिहाल्नु पर्छ भन्ने छैन ।’ 

तस्बिरः श्यामसुन्दर गौरो/आर्थिकन्युज

प्रतिक्रिया दिनुहोस