aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

महिलाहरूलाई दया देखाएर सस्तो राजनीति नगरेकै बेस: पोखरेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ साउन २०८०
महिलाहरूलाई दया देखाएर सस्तो राजनीति नगरेकै बेस: पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भोट लागि सस्तो राजनीति नगर्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले महिलाहरूलाई दया देखाएर सस्तो राजनीति नगर्न भनेका हुन् । 

उनले लेखका छन्, ‘स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौँ । चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने  र सन्देश दिने प्रयास गरौँ ।’ 

हेरौँ, उनको स्ट्याटस 

सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनबाट दिन खोजिएको सन्देश

दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको  बेलामा नेपाली समाजमा अपवाद बाहेक महिलाहरू सुरु देखिनै तुलनात्मक हिसाबले स्वतन्त्र थिए । उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे । जबकि अहिले युवाहरूको ठुलो सङ्ख्या रोजगारीका सिलसिलामा विदेशीएका वेला ठुलोसंख्यमा महिलाहरू परिवारको मुलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन् ।

यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् ? जिज्ञासा उठ्नु स्वाभाविक हो ।

नेपाली समाजमा यतिवेला रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो । 

पंचायतकालमा म विद्यार्थी राजनीतिका सिलसिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरूले ठुलो सङ्ख्यामा साइकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बिचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिए ।

तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दछौ भन्ने प्रश्न जागृत भएको छ ।

नयाँ र वैकल्पिक शक्ति बनाउँछौ भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनु पर्दछ ।

तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौँ । 

चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने  र सन्देश दिने प्रयास गरौँ ।

 

प्रतिक्रिया दिनुहोस