
वीरगन्ज । अर्थमन्त्री डा. प्रकाश शरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा। महतले यस्तो बताएका हुन् ।
‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो, सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौँ’ मन्त्री डा. महतले भने ।
मन्त्री डा. महतले आयात भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको र त्यसमा राजश्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए । ‘तर, बजारमा प्रशस्त माल बस्तु छ, राजश्व घटिरहेको छ भने त्यो अवस्थामा तपाईंहरुलाई प्रश्न गर्नेछन् । हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्ल्यौँ अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्त्व दिऔं भने राजस्व कम उठ्छ’, उनले भने ।
‘दोस्रो यहाँ हामी अनावश्यक झन्झट दिन्छौँ, जायज कुरालाई पनि यो भएन भन्छौँ, अरू खाले माग गरिराख्यौँ भने यो झन्झट व्यहोर्नुभन्दा व्यवसायीले जोखिम मोलेरै भए पनि अर्को बाटो रोज्छौँ’ मन्त्री डा। महतले भन्नुभयो, ‘त्यो अवस्थामा प्रहरी प्रशासनको भूमिका रहन्छ ।’
‘जायज कुरालाई नाजायज बनाउने थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चित रूपमा व्यवसायीले अर्को बाटो रोज्छन्’ मन्त्री । महतले भने, ‘राजश्व संकलनमा भन्सार र सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका हुन्छ । भन्सार नाकाभन्दा बाहिरबाट माल बस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ । म काम गर्न आएको हो, फाइदा उठाउन होइन ।’
हाम्रो आय स्रोतको ८० प्रतिशतभन्दा बढी राजश्वबाट प्राप्त हुन्छ । यो ८० प्रतिशतभन्दा बढी राजश्व हामीले भन्सार आन्तरिक राजश्वबाट उठाउनुपर्छ । यो राजश्वबाट झन्डै आधा अर्थात् ४८ प्रतिशत भन्सारबाट उठाउनुपर्छ । भन्सार योगदानको ४० प्रतिशत सुख्खा बन्दरगाह भन्सार र वीरगन्ज भन्सार कार्यालयबाट प्राप्त हुन्छ । यस हिसाबले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने बुझ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस