काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध मुद्दा दायर गरेको हो ।
उनले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रिसवत माग गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले लेखा अधिकृत शेखर ढकाललाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस रिसवत लिइसकेको अवस्थामा गत असार २२ गते नियन्त्रणमा लिएको थियो ।
उनलाई दुई लाख रुपैयाँ बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । उनलाई कैद सजाय हुन माग समेत गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस