aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

झापा कारागारमा कैदीले गरे विद्रोह, स्थिति नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ साउन २०८०
झापा कारागारमा कैदीले गरे विद्रोह, स्थिति नियन्त्रणमा

झापा । झापामा रहेको जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीचको झडपले उग्र रूप लिँदा जेल भित्रै आगजनी नियन्त्रणमा आएको छ । कैदी सरुवाको विषयलाई लिएर भएको विवाद अहिले साम्य भइसकेको झापाका  प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिवराम पोखरेलले जानकारी दिएका छन् । 

पोखरेलका अनुसार कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रिएका हुन्।  अहिले लावतीलाई फेरी त्यहीँ राख्ने सहमति गरी स्थितिलाई सहज बनाइएको सिडिओ पोखरेलले बताए । 

कारागारभित्र ढुङ्गा हानाहान भएको र कैदीहरूले भाग्ने उद्देश्यले आगजनी समेत गरेको उनले बताए । कारागारभित्रबाट धुवाँको मुस्लो उडिरहेको बाहिरैबाट देखिएको थियो  । पोखरेलले असन्तुष्ट पक्षको चित्त बुझाएको र अहिले खासै ठूलो समस्या नरहेको जानकारी दिए । 

कैदीहरूलाई यस पटकको घटनामा सामान्य ढंगले सम्झाई बुझाई गरिएको भए पनि अब उप्रान्त यस्तो घटना दोहोरिएमा कडा ढंगले प्रस्तुत हुने चेतावनी समेत दिइएको उनले बताए ।  अत्यन्तै साँगुरो गरी ठूलो संख्यामा कैदी राखिएको भन्दै झापा कारागारका कैदीहरू प्रशासन प्रति निकै लामो समयदेखि आक्रोशित थिए । 

क्षमता भन्दा झन्डै दोब्बर संख्यामा लगभग १५ सय जना कैदी राखिएको झापा कारागारमा कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने अवस्था भने कायमै रहेको सिडिओ पोखरेलले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस