
काठमाडौं । आज अगष्ट ६, विश्व इतिहासमा असामान्य घटना घटेको दिन !
सन् १९४५ अगष्ट ६ कै दिन अमेरिकाले जापानको हिरोसीमा शहरमा अणुबम खसालेको थियो । त्यसको तीन दिनपछि अर्थात् अगष्ट ९ मा पुनः अर्को अणुबम नागाशाकी शहरमा खसाल्यो ।
जापानमा अमेरिकाले विश्वमै पहिलोपटक आणविक बम प्रयोग गरेको थियो । परम्परागत युद्धमा जापान सजिलै परास्त नभएपछि खसालिएको अणुबमले २ लाख १४ हजारभन्दा धेरै मानिसको ज्यान लियो । सन् १९४५ देखि १९५२ सम्म अमेरिकाले जापानमाथि प्रत्यक्ष शासन गर्यो ।
सो आणविक हमलाको आर्थिक क्षतिबारे अहिलेसम्म एकीन तथ्याङ्क निकाल्न सकिएको छैन । किनकी, अणुबमको धमाका र लप्कोले यी दुई शहरमा घरदेखि बैंकसम्म भत्किएका र जलेका थिए । जापानमा अणुबम हमलाको भौतिक र वित्तीय क्षतिको सरदर मापन भएपनि समग्र क्षतिको हिसाबकिताब सम्भवतः कहिल्यै हुनसक्ने छैन ।
भौतिक सम्पत्तिले भवन, मेसिन, उपकरण, सडक र पुलहरू लगायत र हराएको वित्तीय सम्पत्तिले नगद, निक्षेप, बचत, स्टक र धितोपत्र लगायतलाई जनाउँछ । दुर्भाग्यवश: अणुबम हमलापछि हराएको वित्तीय सम्पत्तिको मूल्य अनुमान गर्न व्यावहारिक रूपमा असम्भव छ । हिरोसीमा फर ग्लोबल पिस वेभसाइटका अनुसार आणविक लप्कोले महत्वपूर्ण हजारौं कागजात र पुस्तकहरू खरानी बनाएको थियो ।
यद्यपि, हराएको भौतिक सम्पत्तिको मोटामोटी मूल्य अनुमान गर्ने तरिकाहरू छन् । उदाहरणका लागि, हिरोशिमा शहरले गरेको सर्वेक्षणले अणुबम हमलामा घर, पसल, कारखाना र विद्यालयहरू सहित कुल ७६,३२७ भवनहरूमध्ये ७०,१४७ पूर्ण वा आंशिक रूपमा जलेको वा नष्ट भएको खुलासा गरेका थियो । सो संख्यामा ६४ हजार निजी घरहरू र ६०० कारखानाहरू समावेश थिए । ती घर र उद्योग/कलकारखानाभित्र क्षतिग्रस्त फर्निचर, निजी सम्पत्ति र रुखबिरुवाको आंकलन गर्दा क्षति निकै मात्रामा भएको थियो ।
हिरोशिमा शहर द्वारा प्रकाशित म्युनिसिपल ह्यान्डबुक १९४६ अनुसार छ वटा वर्गहरूमा (निजी घरहरू, भवनहरू, पुलहरू, सडकहरू, निजी सम्पत्तिहरू,र सञ्चार सुविधाहरू) मा कुल ७६ करोड ३४ लाख ३० हजार येन बराबर क्षति भएको अनुमान गरिएको थियो ।
सन् १९४९ मा आर्थिक स्थिरता बोर्डले प्रकाशित गरेको प्रतिवेदनले हिरोशिमा शहरमा कुल सम्पत्ति क्षति त्यतिबेलाको ६९५,००,००० येन बराबर भएको अनुमान गरेको थियो । सन् १९४७ मा ५० जापानी येन बराबर १ अमेरिकी डलर विनिमय दर थियो । तर, त्यसको दुई वर्षभित्रै अर्थात सन् १९५९ मा १ अमेरिकी डलर बराबर ३६० येन कायम भएको थियो । यसबाट नै थाहा हुन्छ कि अणुबमले निम्त्याएको क्षति त्यतिखेरै भएको मानवीय र भौतिक क्षतिमा मात्रै सीमित रहेन । बरु त्यसले निकै वर्षसम्म जापानलाई लपेटिरह्यो ।
हिरोशिमा र नागासाकी शहरद्वारा संयुक्त रूपमा सम्पादन गरिएको हिरोशिमा, नागासाकी नो गेन्बाकु साइगाई (सन् १९७९) मा अणुबम हमलामा जापानमा भएको कूल क्षतिको थप विस्तृत डाटा फेला पार्न सकिन्छ । त्यहाँ सन् १९४५ को मूल्यमा ८८ करोड ४१ लाख यन हराएको अनुमान छ । यो रकम त्यतिबेला ८ लाख ५० हजार जापानीको औषत वार्षिक आय बराबर थियो । सन् १९४४ जापानको प्रतिव्यक्ति आय एक हजार ४४ येन थियो ।
औद्योगिक अर्थतन्त्रको पुन:निर्माण
हिरोशिमाको औद्योगिक अर्थतन्त्रको पुन:निर्माण विभिन्न कारकहरूद्वारा निर्देशित थियो । अणुबम आक्रमणमा ध्वस्त भएका धेरै उद्योगहरु साना आकारका थिए । यी उद्योगमा औषतमा ५ जना मजदुर कार्यरत थिए । तर, यस्ता सबै उद्योगहरु शहरकै केन्द्रमै थिए । धेरै ठूला कारखानाहरू चाहिँ अणुबमले मच्चाएको विनाशबाट बचेका थिए ।
पुन:निर्माणको लागि अर्को प्रमुख कारक सरकारको नेतृत्वमा आयोजनाहरू थिए । सन् १९५९ को सेप्टेम्बरमा हिरोशिमा शहरले आफ्ना उद्योग पुन:निर्माण निम्ति पञ्चवर्षीय योजना घोषणा गर्यो । सो योजना कार्यान्वयनमार्फत सन् १९५३ सम्म त जापानले औद्योगिक उत्पादनतर्फ सन् १०४८ मा भन्दा ३.३ गुणा बढी वृद्धि हासिल गर्ने लक्ष्य राख्यो । सो लक्ष्य लगभग हासिल भएको थियो ।
युद्ध त्रासदीबाट उठ्न युद्धकै उपयोग
सन् १९५० जुनदेखि शुरु भएको कोरियाली प्रायद्वीप युद्धको समयमा जापानमा विशेष खरिद माग आयो । युद्धले निम्त्याएको महाविनाशबाट उठ्न खोजिरहेको जापानले यस निम्ति कोरियाली युद्धलाई नै टेको बनायो ।
यही युद्धले जापानलाई सवारीसाधनदेखि डिब्बाबन्द तयारी खाद्यान्न उत्पादनमा सहयोग पुर्यायो । कोरियाली युद्धका बेला उत्पादनका क्षेत्रमा लिएको सुझबुझपूर्ण कदममार्फत जापानले त्यसपछिका दशकसम्मका लागि आर्थिक वृद्धिको जग हाल्यो ।
शासकको चरित्रबोध
जापानलाई आणविक विनाशबाट माथि उठ्न शासकको चरित्रबोधले पनि सघायो । विश्वयुद्ध भइरहँदा सैन्य शक्तिमा मात्र केन्द्रित भएका सम्राट शोवाको अलोकप्रिय र भयानक शासन भोगेका जापानीहरुले अणुबम खसाल्ने अमेरिकीप्रति खासै दुस्मनीभाव राखेनन् ।
किनकी, जापानमा अणुबम खसाल्ने स्थिति सम्राट शोवाले नै निम्त्याएका थिए भन्ने जापानीलाई लागेको थियो । अमेरिका विश्वयुद्धमा असंलग्न थियो । यदी जापानले पर्ल हार्बरमा आक्रमण गर्दैनथ्यो भने सम्भवतः अमेरिका जापानविरुद्ध विश्वयुद्धमा सामेल हुँदैनथ्यो । शोवाले सैन्य शक्तिमा व्यापक खर्च गर्दा जापानी नागरिकले अणुबम त्रासदी भोग्नुअघि नै चरम आर्थिक संकट खेपिसकेको थिए ।
जापानमा उत्तीर्ण हुने अमेरिकी चाह
दोस्रो विश्वयुद्ध सकिएपछि पनि अमेरिकाले ठूला-ठूला युद्ध लडेको छ । भियतनाम, अफगानिस्तान, इराक र सिरियाजस्ता देशमा प्रत्यक्ष त दक्षिण अमेरिकी, अफ्रिकी र केही एसियाली देशमा अप्रत्यक्ष लडाइँ लडिरहेको छ । हाल यूरोएसियाली क्षेत्रमा भइरहेको रूस-युक्रेन युद्धमा पनि अमेरिका संलग्न छ ।
सन् १७८३ सम्म (८ वर्ष ४ महिना १५ दिन) बेलायतसँग लडेको स्वतन्त्रता संग्राम पछि अमेरिकाले खासै ठूलो युद्ध लडेको थिएन । पहिलो विश्वयुद्ध नै उसका लागि आधुनिक युद्धको पहिलो अन्तरराष्ट्रिय फौजी मोर्चा थियो । तर, बेलायती उपनिवेशमुक्त भएदेखि नै विज्ञान-प्रविधि क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गर्न लागिपरेको अमेरिकाले संसारले सोचेभन्दा भयानक र विनाशकारी हतियार बनाइसकेको थियो । जापानमा खसाएको अणुबम तिनै हतियारमध्ये एक थियो ।
अमेरिकाले जापानमा अणुबम त खसाल्यो, तर अणुबमभन्दा चर्को आलोचना आफैंले खेप्यो । अब अमेरिकालाई जापानमा अणुबम खसाल्नुको औचित्य र आफ्नो भूमिका पुष्टि गर्नु थियो । त्यसैले त, अणुबम खसाएपछि जापानमा प्रत्यक्ष शासन चलाएको अमेरिकाले त्यहाँको पुन:निर्माणमा निकै ठूलो लगानी गर्यो ।
श्रम अधिकार लागू गर्नेदेखि त्यहाँको अर्थतन्त्रमा अवरोध देखिएको सबै खालका एकाधिकारहरु अन्त्य गरिदियो । जापान आज प्रविधि क्षेत्रमा अब्बल बन्नुको कारण अमेरिकाले आफ्नो शासनकालमा त्यहाँ खडा गरिदिएको प्राविधिक र व्यवसायमैत्री शिक्षाको जग हो । प्रविधि हस्तान्तरणमा पनि अमेरिकाले कुनै कञ्जुस्याइँ गरेन । यसका पछाडि त्रासद अणुबम हमलाकारीको दाग कम गर्नु एउटा कारण थियो भने अमेरिकी नागरिक तथा विद्वत क्षेत्रबाट भइरहेको आलोचना अर्को कारण थियो ।
सरकारी नीति र जनताको परिश्रमको प्रतिफल
विश्वयुद्धपछि जापान एउटै मुद्दामा केन्द्रित भयो, त्यो थियो : मजबुत अर्थतन्त्र निर्माण । यस्तो अर्थतन्त्र खडा गर्न जापानले युद्धअघिको देशको आर्थिक स्थितिबाट शिक्षा लियो । संसारभरका असल अभ्यासहरू अनुकरण गर्यो ।
त्यहाँको सरकारले खेतीयोग्य जमिन भएका, तर खेतीकिसानी नगर्नेसँग जमिन फिर्ता लियो । सो जमिन किसानलाई उपलब्ध गराइयो । सो नीतिले जापानको कृषि क्षेत्रमा पर्याप्त रोजगारी र उत्पादन अवस्था सृजना गर्यो ।
युद्धअघि जापानमा ऊर्जाको मुख्य स्रोत कोइला नै थियो । ती कोइलाखानीमा कोरियाली र चिनियाँहरूले काम गर्ने गर्थे । तर, जापानले युद्ध हारेपछि कोरियाली र चिनियाँहरूले काम गर्न छाडे । कोइला उत्पादनमा कमी हुँदा ऊर्जा संकट निम्तियो । तर, जापानी जनता यसरी जागे कि कोरियाली र चिनियाँलाई नै अचम्भित पार्दै आफैंले कोइलाखानीबाट भारी मात्रामा कोइला निकाल्न थाले । ऊर्जा संकट क्रमश: कम हुँदै गयो ।
युद्धपछि पनि सैन्य व्यवस्थापनमा भैरहेको ठूलो खर्च जापानका लागि टाउकोदुखाइ बनिरहेको थियो । यस्तो खर्चले मुद्रास्फीति बढाएको थियो । यो खर्चमा त्यहाँको सरकारले व्यापक कटौती गरिदियो । जनताले अब दैनन्दिन आवश्यकताका सामान सस्तो मूल्यमा पाउन थाले ।
प्रविधि भित्र्याउन जापानले कुनै कसर बाँकी राखेन । अन्यत्रबाट प्रविधि आयात गर्ने र आफूअनुकूल त्यसलाई फिट गरिहाल्ने जापानी क्षमता वास्तवमै अद्भूत रह्यो । यसले पनि जापानको आर्थिक वृद्धिमा निकै योगदान गर्यो ।
यसरी, सन् १९७० सम्म त्यहाँको सरकारले लिएको नीति र नागरिकको कडा मेहनतले जापान फेरि विश्वमञ्चमा दर्बिलो बन्दै खडा भयो । विश्वयुद्धमा विनाशलीला भोगेको ४० वर्षमा जापान विश्वको प्रमुख आर्थिक शक्ति बन्यो । आज जापान विश्वकै तेस्रो ठूलो अर्थतन्त्र हो ।
प्रतिक्रिया दिनुहोस