
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यले नेतृत्वको चर्को आलोचना गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी केन्द्रीय समिति बैठक नै टुङ्ग्याउन लागेका छन् । उनले बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूलाई लिखित सुझाव टिपाउन भनेका हुन् ।
माओवादी केन्द्रीय समितिको चौथो विस्तारित बैठक साउन १७ (गत बुधबार) देखि बसिरहेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा-सम प्रेक्षालयमा बसिरहेको बैठकलाई आज (आइतबार) प्रचण्डले हल बुकिङ अवधि सकिएको बहाना देखाएर टुङ्ग्याइदिन लागेका हुन् ।
माओवादी बैठकमा कूल ७५८ जना सहभागी छन् । झण्डै १५० केन्द्रीय सदस्यले बोल्नै बाँकी छ । यसअघि बोलेका अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष प्रचण्ड र शीर्षस्थ नेताहरूको चर्को आलोचना गरेका थिए । राजनीतिक र सांगठानिक मामिलामा सामान्य आलोचना भएपनि आर्थिक मामिलामा भने माओवादी नेताहरूले केन्द्रीय सदस्यहरूबाट चरम आलोचना खेपेका छन् ।
आलोचनामात्रै सुन्नुपर्ने र नेतृत्वतिर नै यो सोझिएपछि अध्यक्ष प्रचण्डले बैठक टुङ्ग्याउनुपर्ने कारण प्रज्ञा प्रतिष्ठानको हललाई देखाएका हुन् । उनले माओवादीको पार्टी जीवनमा हालसम्मकै आलोचनात्मक बैठक झेल्न नसक्दा यसलाई टुङ्ग्याउन हल बुकिङ अवधि सकिएको बहाना देखाएका बैठकमा सहभागी एक केन्द्रीय सदस्यले आर्थिकन्यूजलाई बताए ।
प्रज्ञा भन्छ : ‘हल व्यवस्था गर्न समस्या छैन’
अहिले माओवादीले केन्द्रीय समिति बैठक आयोजना गरेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलको नाम प्रज्ञा सम प्रेक्षालय हो । यो प्रतिष्ठानमा रहेको ठूला मध्येको हल हो । प्रज्ञासँग उत्रै आकारको नभएपनि थप ४ वटा हल छ । माओवादीले प्रज्ञाकै परिसरभित्र खुला स्थानमा बैठककक्ष बनाउन चाहे प्रज्ञा डबलीदेखि उत्तरतर्फको खाली जमिन पनि छ ।
‘माओवादीले हल बुकिङ अवधि सकिएकै कारण केन्द्रीय समिति बैठक अपूरै टुङ्ग्याउनुपर्ने हो त ?’ भनी हामीले प्रज्ञाका हल व्यवस्थापक ऋषिराम गिरिलाई सोध्दा उनले भने, ‘हल बुकिङ अवधि त आज सकिने नै हो, तर समय थप्न उहाँहरूले लिखित या मौखिक रूपमा केही भन्नुभएको छैन । आवश्यक परे उहाँहरूलाई चाहिएको दिनसम्म हल दिन सकिन्छ ।’
‘प्रज्ञामा ठाउँ नभए पार्टीप्यालेस छँदैछ नि !’
माओवादी बैठकमा एक केन्द्रीय सदस्यले नेतृत्वले आलोचना पचाउन नसक्दा हलको बहाना देखाएर बैठक टुङ्ग्याउन खोजेको दाबी गरे ।
‘पार्टीलाई तहसनहस बनाउनेगरी जस्तासुकै अपराध गरेपनि वरपर गणेश प्रवृतिका दासहरू राखेर प्रसंशा सुन्ने बानी परेको नेतृत्व पङ्क्तिलाई यो बैठक शुरूकै दिनेदेखि दाँतमा ढुङ्गा भैरहेको छ,’ उनले भने, ‘अध्यक्ष प्रचण्ड नै तर्क र जवाफले नेता/कार्यकर्ताको चित्त बुझाउन सक्ने अवस्थामा रहेनन् । त्यसैले बैठक ढिसमिस पार्न खोजियो ।’
अर्का एक केन्द्रीय सदस्यले चाहिँ नेतृत्व पार्टीका नेता/कार्यकर्ताकै सामू रक्षात्मक समेत हुन नसक्ने देखिएकाले प्रचण्डले बैठक टुङ्ग्याउन खोजेको बताए । उनले भने, ‘साउन महिनामा अक्सर बिहे/ब्रतबन्धका कार्यक्रम हुँदैनन् । काठमाडौंमा हजारौं मानिस एकसाथ अटाउने सयौं पार्टीप्यालेस खाली छन् । प्रज्ञाको हल नपाए पार्टीप्यालेसमा बैठक सार्न सकिन्छ । तर, नेतृत्व अब बैठक लम्ब्याएर थप आलोचना सुन्न नै चाहँदैन ।’
केन्द्रीय समिति बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने तयारीस्वरुप पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय सदस्यको आलोचना खेपेका अधिकांश नेताहरू पार्टी पदाधिकारीहरू नै हुन् । तिनै पदाधिकारीहरूले तयार गरेको जवाफ प्रचण्डले केन्द्रीय सदस्यहरूलाई दिने बताइएको छ । तर, लिखित प्रतिवेदन आउने सम्भावना भने तत्काललाई नदेखिएको नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस