aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतमा एकैपटक ५०८ रेल बिसौनी शिलान्यास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ साउन २०८०
भारतमा एकैपटक ५०८ रेल बिसौनी शिलान्यास

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय आठ वटा रेल बिसौनी पुनर्निर्माण एवम् विकास परियोजनाको शिलान्यास गरेका छन्‌ । भिडियो कन्फरेन्समार्फत अमृत भारत स्टेशन योजनाअन्तर्गत २५ हजार करोडका ती विशाल परियोजनाको उनले शिलान्यास गरेका हुन्‌ । 

आज शिलान्यास गरिएका रेल बिसौनीमा केन्द्रीय मन्त्री तथा सम्बन्धित राज्यका मुख्यमन्त्री एवम् राज्यपालहरूको उपस्थिति थियो । रेल बिसौनी देशका २७ राज्य र केन्द्र शासित प्रदेशमा फैलिएका छन् । 

त्यस अवसरमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री मोदीले विश्वस्तरीय सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नका साथै विपक्षीहरूको आलोचना पनि गरे । देश विकासका काममा आफू पनि नलाग्ने अनि अरुलाई पनि लाग्न नदिने प्रतिपक्षीले विरोध गर्दैमा आफू विचलित नहुने उनले बताए ।

‘देशले आधुनिक संसद् भवन बनाएको छ, संसद् देशको लोकतन्त्रको प्रतीक हो । यसमा सत्तापक्ष र प्रतिपक्षको प्रतिनिधित्व छ तर विपक्षीले नयाँ संसद् भवनको विरोधमात्र गरेन उद्घाटन कार्यक्रमलाई बहिष्कार गर्‍यो । हामीले कर्तव्य मार्गको पुनर्विकास गर्‍यौं, तर उहाँहरूले त्यसको पनि विरोध गरे,’ विपक्षी राजनीतिक दलका नेताले नकारात्मकबाट माथि उठेर सकारात्मक राजनीतिको बाटोमा अगाडि बढ्नुपर्ने सुझाउँदै भने ।

विरोधमात्र गर्ने विपक्षीहरूलाई लज्जा महसुस नभएको भन्दै मोदीले थपे, ‘७० वर्षसम्म उनीहरूले केही गरेनन्, देशका वीर शहीदहरूको सम्मानमा युद्ध स्मारक पनि बनाएनन् । हामीले राष्ट्रिय युद्ध स्मारक बनायौं, तिनीहरूले त्यसको पनि आलोचना गर्न पछि परेका छैनन् । राष्ट्रिय एकताका प्रतिमूर्ति सरदार वल्लभभाई पटेलको संसारको सबैभन्दा अग्लो भवन बनायौँ, त्यसमा प्रत्येक भारतीयलाई गर्व छ । तर केही राजनीतिक दलका ठूला नेताहरूमध्ये कसैले पनि उक्त मूर्ति भएको स्थानको भ्रमण गरेनन् ।’

प्रतिक्रिया दिनुहोस