काठमाडौं । नेपालको एक मात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बस सेवा डटकम नवौँ वार्षिक उत्सव पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । बस सेवा टुर्स एण्ड ट्राभल्स् अन्तर्गत रहेर वि.सं. २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बस सेवा दशौँ वर्षमा प्रवेश गरेको हो ।
यो अवधिमा बस सेवा डटकम नेपालभरका अधिकांश रुटहरूमा सेवा प्रदान गर्न सक्षम भएको छ । साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ । हाल दैनिक ३ हजार भन्दा बढी यात्रुले बस सेवा मार्फत टिकट काटी यात्रा गर्दै आएका छन् । यो बिचमा बस सेवाले यात्रुहरूलाई बस कुर्न झन्झट नहोस् भन्ने उद्देश्यले राजधानी काठमाडौँको ढुङ्गे अड्डामा प्यासेन्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ । सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा रहेका छन् भने लाउञ्बाट सिधै बस चढ्न सकिन्छ । जसले गर्दा यात्रुहरूलाई सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
स्थापना भएको अर्को वर्ष अर्थात् २०७२ सालमा विनाशकारी भूकम्प, नाकाबन्दी, जस्ता कुराको मार खेपेको बस सेवाले यो बिचमा कोभिड महामारीका कारण भएको लकडाउनमा पनि लामो समय समस्या झेल्नुपर्यो । अनौपचारिक क्षेत्र मानिएको र प्रविधिको प्रयोग शून्य रहेको यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन बस सेवाले लामै कसरत गर्नुपरे पनि हाल बस सेवाप्रति आम यातायात व्यवसायी र यात्री आकर्षित हुँदै गएका छन् । दशौँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बस सेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बस सेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइन मार्फत टिकट प्रदान गर्ने उद्देश्यले आफ्नो सेवा सुरू गरेको जानकारी दिए । उनले आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउँदै आम यात्रुलाई सहज हुने गरी सेवा विस्तार गर्दै जाने उनले बताए ।
यसैबिच बस सेवाले १० औँ वर्ष प्रवेशका अवसरमा दश दिनसम्म हरेक दिन दश जनाले निःशुल्क यात्रा गर्न सक्ने अफर सार्वजनिक गरेको छ । हरेक दिन गोला प्रथा मार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिनेछ । विजेताको नाम बस सेवाको आधिकारिक फेशबुकपेज मार्फत सार्वजनिक गरिनेछ ।
बस सेवा डटकम नेपालको एक मात्र अनलाइन बस टिकट काट्न सकिने सेवा प्रदायक हो । यात्रुहरूले कुनै पनि गन्तव्यका टिकट सहजै बस सेवा डटकम र बस सेवाको मोबाइल एप्स् मार्फत टिकट काट्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस