aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गौरीकुण्डको पहिरोमा परेका नेपालीको पहिचान खुल्यो, एकै परिवारका ७ जना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ साउन २०८०
गौरीकुण्डको पहिरोमा परेका नेपालीको पहिचान खुल्यो, एकै परिवारका ७ जना
फाइल फोटो

काठमाडौं । भारतको उत्तराखण्डको गौरीकुण्डमा पहिरोमा परेका नेपालीहरूको पहिचान खुलेको छ । जुम्लाको अस्थाई प्रहरी चौकीका अनुसार गौरीकुण्डको पहिरोमा ११ जना नेपालीहरू परेका हुन् । 

प्रहरीका अनुसार जुम्लाको पातारासी गाउँपालिका वडा नं. २ पेरे बस्ने मान बहादुरको छोरा ५५ वर्षका धर्मराज बुढा पहिरोमा परेर बेपत्ता रहेका छन् । साेही स्थानका लाहुने कामीका छोरा २४ वर्षका चन्न कामी पनि भेटिएका छैनन्‌ । 

जुम्लाको पातारासी-३, चौरका एकै घरका सात जना पहिरोमा परेका हुन् । जसमा अम्मर बोहरा, उनकी श्रीमती अनिता बोहरा, छोरी सलिना बोहरा, पिंकी बोहरा, प्रिती बोहरा, छोरा जटिल बोहरा, ओकील बोहरा रहेका छन् । त्यस्तै, उक्त पहिरोमा सोहि ठाउँका सतरसिंह बोहरा र शुकराम राव समेत पहिरोमा परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी वरिष्ठ नायब निरीक्षक झुपेन्द्रबहादुर शाहीले बेपत्तामध्ये हालसम्म कसैको शव नभेटिएको बताए । स्थानीय प्रहरी चौकीले एक जनालाई मृतक पनि उल्लेख गरे पनि उनी नभेटिएकाले त्यो गलत रहेको शाहीले जानकारी दिए । पहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न जिल्लास्तरबाट भारतीय पक्षलाई मौखिक आग्रह भएको, तर गृह मन्त्रालयले आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस