aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रुबललाई 'कागजको खोस्टो' बनाउने अमेरिकी सपना तुहिँदै, पश्चिमी प्रतिबन्धको बाबजुद रुसको अर्थतन्त्र बढ्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ साउन २०८०
रुबललाई 'कागजको खोस्टो' बनाउने अमेरिकी सपना तुहिँदै, पश्चिमी प्रतिबन्धको बाबजुद रुसको अर्थतन्त्र बढ्ने

एजेन्सी। अमेरिकी राष्ट्रपति जो वाईडेनले "रुबललाई कागजको खोस्टोमा परिणत गर्ने" भन्दै खाएको कसमलाई गिज्याउँदै रुसको अर्थतन्त्रमा अनपेक्षित वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्ष रुसको अर्थतन्त्र १.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेसँगै यस्तो देखिएको हो ।

रुसको अर्थतन्त्र गत वर्ष २.१ प्रतिशतले सङ्कुचित भएको थियो तर रुसले प्रतिबन्धहरू समायोजन गर्दै गर्दा यसले फेरी लय समातेको छ। वाल स्ट्रिट जर्नलले गएको बुधवार युक्रेनको रणभूमिको अवस्थासँग तुलना गर्दै आर्थिक युद्धमा रुस अगाडी देखिएको टिप्पणी गरेको छ ।

सो टिप्पणीमा भनिएको छ कि पश्चिमी प्रतिबन्धहरूले सुरुमा रुसलाई माइक्रोचिप्स र अन्य प्राविधिक कम्पोनेन्टहरू प्राप्त गर्न गाह्रो बनाएको थियो । तर, मस्कोले छिमेकी देशहरू मार्फत प्रतिबन्धको कमजोरीहरू फेला पार्‍यो। भारत र एसियाका अन्य ठाउँमा नयाँ बजार फेला परेकाले रुसलाई आफ्नो तेल बेच्न पनि कुनै समस्या परेको छैन।

जर्नलले विश्लेषकहरूलाई उद्धृत गर्दै प्रतिबन्धहरूले रुसलाई दीर्घकालीन रूपमा हानि पुर्‍याउने भए पनि मस्कोले बलियो सम्बन्ध बनाउन जारी राखेको उल्लेख गरेको छ । रुसले चीनसँगको व्यापारमा पनि उल्लेखनीय वृद्धि गरेको छ। अमेरिकाको वर्चस्व रहेको विश्वव्यापी वित्तीय प्रणालीको विकल्प बिस्तारै रुस र चीनको सहकारी अनि अमेरिकी प्रतिबन्धका कारण अन्य देशहरूले निर्माण गर्दै छन्।

अमेरिकाले नाकाबन्दी लगाएर साना देशहरूको अर्थतन्त्रलाई सफलतापूर्वक कुल्चन सफल भएको उदाहरण धेरै छन् । तर रुसमाथिको प्रतिबन्ध ठूलो अर्थतन्त्रमा लगाइएको सबैभन्दा कठोर हुँदाहुँदै पनि असफल बनेको छ। चीन र रुसले वैकल्पिक बजार प्रस्ताव गर्दा साना राष्ट्रहरूमा समेत अमेरिकी प्रतिबन्धहरूले आफ्नो शक्ति गुमाउँदै छ।

उदाहरणका लागि, अमेरिकाले सन् २०१८ मा आणविक सम्झौताबाट पछि हट्ने र पुनः प्रतिबन्ध लगाउनु अघि सन् २०२२ मा इरानको तेल बिक्री २०१६ मा भन्दा बढी थियो। धेरैजसो नयाँ इरानी तेल चीनमा बिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस