काठमाडौं । अहिले देशभर आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिसको सङ्क्रमण देखिएको छ । हाल नेपालका विभिन्न जिल्लाहरूमा भाइरत कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने समस्या देखिएको हो ।
यो रोग लागेमा आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा÷चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने, दुख्ने, घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने हुन्छ ।
आँखा पाक्ने रोग सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । आँखा पोकेका व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र सङ्क्रमित व्यक्ति भिडभाडमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने, जथाभाबी आँखा नछुने, छाइसकेपछि साबुन पानीले धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने गर्नु पर्छ ।
आँखा पाक्ने रोग घरमै स्याहार गरे एकदेखि दुई हप्तामा आफै निको हुन्छ । घरमा स्याहार गर्दा विभिन्न कुराहरूमा ध्यान दिनु पर्ने हुन्छ । जस्तै: बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने, आँखा नमिच्ने र पानी नछ्याप्ने, प्रशस्त पानी र पोषिलो खाना खाने गर्नु पर्छ ।
त्यस्तै, बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने गर्नु पर्छ । स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभाबी औषधि प्रयोग नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस