aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बाढीले बल्खु र धुम्बाराहीको तरकारी बजार डुब्यो, काठमाडौँ उपत्यका जलमग्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ साउन २०८०
बाढीले बल्खु र धुम्बाराहीको तरकारी बजार डुब्यो, काठमाडौँ उपत्यका जलमग्न

काठमाडौं । लगातारको भारी वर्षाले काठमाडौं उपत्यकाका धेरै ठाउँ डुबानमा परेको छ । बागमती नदीमा आएको बाढीले बल्खु तरकारी बजार डुबानमा परेको छ । उता वर्षाको पानीको उचित निकास नहुँदा काठमाडौंको धुम्बाराहीस्थित तरकारी बजार पनि डुबानमा परेको छ ।

स्थानीय तरकारी व्यापारीका अनुसार बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको हो । एक्कासि बजारमा पानी पसेपछि व्यापारीहरूले तरकारी सुरक्षित स्थानमा सार्न समेत भ्याएनन् । त्यसबाट ठूलो आर्थिक क्षति भएको उनीहरूले बताएका छन् । तर, क्षतिको मूल्याङ्कन भने हुन बाँकी नै छ ।

गत राती देखी जारी निरन्तरको वर्षाले काठमाडौं उपत्यका लगायत देशभर बढी र पहिरो निम्त्याएको छ । वर्षाका कारण उपत्यकाका विभिन्न खोलामा पानी बहाव बढेको छ।

भारी वर्षातका कारण काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्रेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, “भारी वर्षाले काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ ।”

यसैगरी भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाढीकै कारण काठमाडौंको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अविरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आकलन गरेर ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस