aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गोदावरीधामका सन्त महन्तको समेत बाढीले पार्‍यो बिजोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ साउन २०८०
गोदावरीधामका सन्त महन्तको समेत बाढीले पार्‍यो बिजोग

काठमाडौँ । गए रातिको वर्षासँगै कैलालीको गोदावरी नदीमा आएको बाढीले गोदावरीधाम परिसरमा रहेका मठमन्दिरमा क्षति पुर्‍याएको छ । नदीमा आएको बाढीले धाम परिसरमा श्राद्ध गर्न बनाइएको कुण्ड, पिण्ड स्थलका साथै श्रीयन्त, विष्णु मन्दिर, शिव मन्दिर, बटुक बस्ने घरलगायतका संरचनामा क्षति पुर्‍याएको छ । 

धेरै संरचना बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवाले पुरिएका छन् । बाढीले धाम परिसरमा जडान गरिएको सोलार बत्तीका साथै नदीको कतिपय भागको तटबन्धमा पनि क्षति पुर्‍याएको छ । धाम विकास समितिका पदमराज जोशीले राति नदीमा आएको बाढीले धाम परिसरमा क्षति पुर्‍याएको जानकारी दिए । 

धाममा बस्दै आएका बटुक खगेन्द्र बिनाडीले बेलुकी आरती गर्ने समयमा नदीमा अचानक बाढी आउँदा क्षति पुर्‍याएको बताए । बाढीपछि जोखिममा परेका बटुक र सन्त महन्तलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाको संयुक्त पहलमा उद्धार गरिएको थियो । 

बाढीले धाम आसपासमा रहेका पशु चौपाया बगाएको जनाइएको छ । बाढीसँगै गोदावरी नदीमाथि धातु र काठ प्रयोग गरी झन्डै छ दशकअघि बनेको पुल छेउमा कटान गरेको छ । यो पुल जीर्ण बन्दै गएपछि केही वर्षअघि सोही ठाउँमा पक्की पुल निर्माण गरिएको थियो । 

सडक मार्गबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला प्रवेश गर्ने मुख्य द्वार र प्रदेशको प्रमुख तीर्थस्थलका रूपमा रहेको यो धाम क्षेत्र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यहाँ प्रत्येक वर्ष माघ १ गते लाग्ने मकर सङ्क्रान्ति मेलामा नेपाल तथा भारतका भक्तजन स्नान र पूजा गर्न पुग्ने गर्दछन् । यसैबिच वर्षासँगै धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गतको बुढी तोला सडक खण्ड ठाउँ–ठाउँमा भासिँदा यातायात आवागमन अवरुद्ध भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस