aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेका विदेशी मुद्रासहित दुई पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ साउन २०८०
अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेका विदेशी मुद्रासहित दुई पक्राउ

काठमाडौं । अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेका विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको ५ सय दरको १ हजार १ सय थान गरी जम्मा ५ लाख ५० हजार भारतीय रूपैयाँसहित भारतीय नागरिक ४७ वर्षीय बरूनेश चन्द्रलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईन्डिगोको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई बिमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त भारतीय रूपैयाँ फेला परेको हो । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको १ सय ४२ थान गरी १४ हजार २ सय अमेरिकी डलरसहित साउदी अरेबियन नागरिक ५३ वर्षीय अलयम्नी अबदुल्लाह अबदुलरहमानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

बाटिक एयरको उडानद्वारा मलेसिया जान लागेका उनलाई बिमानस्थलको ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको अमेरिकी डलर फेला परेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व विभाग हरिहरभवनमा बुझाउने प्रयोजनार्थ प्रहरी वृत गौशलामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस