aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

वीरगञ्जमा खानेपानीको समस्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ साउन २०८०
वीरगञ्जमा खानेपानीको समस्या

वीरगञ्ज । वीरगञ्जमा पछिल्लो चार महिनामा एक हजार चार सय परिवारलाई खानेपानीको धारा वितरण गरिएको छ । खानेपानीको समस्या भइरहेका बेला एक हजार चार सय परिवारले खानेपानीको धारा जडान गराएका यहाँस्थित खानेपानी संस्थानले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा वैशाखमा ४१, जेठमा एक सय ५७, असारमा दुई सय दुई र साउनको २४ गतेसम्म एक हजार ग्राहकको घरमा धारा जडान गरिएको खानेपानी संस्थान वीरगञ्जका प्रमुख इन्जिनियर निरन महर्जनले जानकारी दिए । उनका अनुसार महानगरले खानेपानीको महसुल तिर्ने गरी विभिन्न वडामा एक सय ५० सामुदायिक धारा जडान गरिएको छ ।

लामो समयदेखि वर्षा नहुँदा वीरगञ्जका विभिन्न स्थानमा गत वैशाखदेखि खानेपानीको समस्या क्रमशः बढ्दै गएपछि धारा जडान गराउनेको सङ्ख्या पनि बढ्दै गएको प्रमुख महर्जनले बताए । उनका अनुसार अहिले दैनिक ५०(६० जना धारा जडानका लागि निवेदन लिएर कार्यालय आउने गरेका छन् । चापाकल, कुवालगायतका खानेपानीका मुहान सक्न थालेपछि धारा जडान गराउने क्रम बढे्को उनको भनाइ थियो ।

प्रमुख महर्जनका अनुसार संस्थानले अहिले दैनिक १०/१२ घण्टासम्म पानी पठाइरहेको छ । “पहिला चापाकलबाट पानी आउँथ्यो, त्यतिबेला खानेपानीको धारा लिन स्थानीयले खासै रुचि देखाएनन्”, उनले भने, “अहिले चापाकल, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि धारा लिन आउनेको सङ्ख्या बढे्को छ ।” 

आठ हजार एक सय ग्राहकले नियमित खानेपानी उपभोग गर्दै आएका संस्थानले जनाएको छ । दैनिक ६०(६५ लाख लिटर खानेपानी उत्पादन गरी महानगरभित्र वितरण गर्दै आइएको बताउँदै महर्जनले संस्थानसँग बीस हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको जानकारी दिए । महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्यालाई मध्यनजर गरी विभिन्न वडामा एक सय ५० सामुदायिक धारा जडान गरिएको उनको भनाइ थियो । हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजनाअनुरुप विस्तारै धारा थप गर्दै लगिने उनले बताए ।

“हरेक वडामा सार्वजनिक धारा जडानका लागि खानेपानी संस्थान र महानगरबीच सम्झौता भएको छ”, प्रमुख महर्जनले भने, “सम्झौता अनुसार वडावडामा धारा जडान गर्दा लाग्ने खर्च तथा महसुल भुक्तानी महानगरले गर्नेछ ।” उनका अनुसार विभिन्न स्थानमा उपभोक्ता समिति गठनको प्रक्रिया अगाडि बढिसकेको छ ।

चार महिनादेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई महानगरले टोलटोलमा अस्थायी ट्र्याङ्कीमार्फत खानेपानी वितरण गरिरहेको महानगरका प्रमुख राजेशमान सिंहले बताउनुभयो । उहाँका अनुसार ट्र्याङ्की पुर्‍याउन नसकिएका स्थानमा ट्र्याङ्करबाट पानी वितरण गरिएको छ । ट्र्याङ्करबाट अहिलेसम्म १९ वडामा दैनिक पानी उपलब्ध गराइरहेको बताउँदै नगरप्रमुख सिंहले सात वडामा भने अस्थायी ट्र्याङ्की राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी संस्थानको पाइपलाइन विस्तार भएका सार्वजनिक स्थानमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ ।  

खानेपानीको पाइपलाइन वडा नं १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका  सार्वजनिक स्थानमा धारा राख्ने काम भइरहेको महानगर प्रमुख सिंहको भनाइ थियो । बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगञ्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ । तत्काल प्राकृतिक रूपमा जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले ट्र्याङ्कीमार्फत अस्थायी रूपमा खानेपानी वितरण गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस