aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ साउन २०८०
चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न माग

काठमाडौं । निजी चिकित्सा शिक्षालयहरूले चिकित्सा शिक्षा ऐन, २०७५ परिमार्जन गर्न माग गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका संयोजक निर्मल सापकोटाले ऐनका कारणले चिकित्सा शिक्षाका कार्यक्रम बन्द गर्नुपरेकाले ऐन परिमार्जन गर्न माग गर्नुभयो ।
 
उहाँले ऐन तत्काल परिमार्जन गरी चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने बताए । “शिक्षा ऐनका कारणले स्वास्थ्य विषयका धेरै कार्यक्रम बन्द भएका छन् । जसले गर्दा विद्यार्थीले अध्ययन गर्न पाएका छैनन्”, उनले भने, “सरकारले चाँडै ऐन परिमार्जन गरी चिकित्सा शिक्षालय खोल्ने वातावरण तयार पार्नुपर्दछ ।”

उहाँका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका  प्रि डिप्लोमा तहका स्वास्थ्य विषयका एक सय ३७ वटा र स्टाफ नर्स ७३, विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बिएन १० र बिएस्सी नर्सिङ आठ गरी कुल दुई सय २८ शिक्षण संस्था बन्द भएका छन् । 

नेपाल मेडिकल एसोसिएसनका डा सुरेश कनोडियाले विदेशबाट पढेर आउनेभन्दा स्वदेशमा पढेका विद्यार्थी अब्बल हुने भन्दै ऐन परिमार्जन गरेर बन्द गरिएका शिक्षण संस्था खुलाएर स्वदेशमै विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्ने जोड दिए । 

उक्त ऐनमा स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षालयले दुई वर्षभित्र एक सय शय्याको आफ्नै अस्पताल चाहिने व्यवस्था गरेको छ । समितिका संयोजक सापकोटाले ऐनमा भएको व्यवस्थाअनुसार कोभिड–१९ को कारणले दुई वर्षभित्र एक सय शय्याको आफ्नै अस्पताल भवन बनाउने सम्भव नभएको र ऐनले चिकित्सा शिक्षा क्षेत्रमा कार्यरत निजी शिक्षण संस्थालाई सुधार तथा नियमन गर्नेतर्फ नभई निषेध गर्ने रहेको बताए । 

प्रतिक्रिया दिनुहोस