aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यस्तो पो रहेछ साना सवारीको टिकट बुकिङ नखुल्नुको कारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
यस्तो पो रहेछ साना सवारीको टिकट बुकिङ नखुल्नुको कारण

सरकारले सबै सार्वजनिक यातायातलाई दशैंका लागि टिकट बुकिङ खोल्न निर्देशन दिए पनि साना सवारी यातायात व्यवसायीले टिकट बुकिङ खोलेका छैनन् । बल्ख, चाबहिल, कोटेश्वर, कलंकी र गोंगबु लगायत स्थानबाट चल्ने टाटा सुमो, हाइस, बोलेरो, माइको जस्ता साना सवारीले बुकिङ नखोलेका हुन्।

राष्ट्रिय यातायात व्यवसायी महासंघसंग छलफल गरी यातायात व्यवस्था विभागले असोज ५ गतेदेखि टिकट बुकिङ खोलेको हो । महासंघअन्तर्गत रहेका १५० यातायात कम्पनीले टिकट बुकिङ खोले पनि मध्यपूर्वी नेपालमा चल्ने साना सवारी कसैको मातहतमा नहुँदा बुकिङ खुल्न नसकेको हो ।

कसैको मातहतमा नरहेका र व्यक्तिले चलाइरहेका भएर साना सार्वजनिक सवारीको बुकिङ खोल्न नसकिएको यातायात व्यवस्था विभागका
सूचना अधिकारी तीर्थराज खनालले बताए । “जनगुनासो आएपछि हामीले पनि अनुगमन गयौं साना सवारीले बुकिङ खोलेका छैनन उनले भने, 'व्यक्तिले चलाइरहेकाले हामीले आग्रह मात्र गर्न सक्छौं।' बुकिङ खोल्न व्यवसायीलाई आग्रह गरे पनि व्यवसायीले बुकिङ नखोलेको उनले बताए ।

साना सार्वजनिक सवारीले गतवर्ष पनि अष्टमीको दिनमा मात्र टिकट बुकिङ खोलेका थिए । गतवर्ष साना सवारीको समिति भएकाले टिकट बुकिङ खोल्न निर्देशन दिए पनि यस वर्ष बुकिङ खुलाउन खोज्दा पनि नसकिएको उनले बताए । विभागले बिहीवार साना सवारी व्यवसायीसँग छलफल गरेको थियो ।

आइतवार पनि बुकिङ खोल्ने विषयमा व्यवसायीसँग छलफल हुने भएकाले बुकिङ खोल्ने तयारी गरिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । यो समाचार अजाको अर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस