काठमाडौँ । महानगरपालिका वरिपरिका नौवटा नगरपालिकाले महानगरको आर्थिक सहयोगमा सुविधासम्पन्न आकर्षक पार्क यसै वर्षभित्र बनाइसक्ने भएका छन् । महानगरले हरेक नगरपालिकालाई एक/एक करोड रुपियाँ उपलब्ध गराएपछि नौवटै नगरपालिकाले पार्क बनाउने योजना अगाडि बढाएका हुन् ।
उपत्यका वरिपरिका नौवटा नगरपालिकामा ज्येष्ठ नागरिक, बालबालिका बस्ने, रमाउने र वनभोज गर्न मिल्नेसम्म सुविधा भएका पार्क बन्ने क्रम धमाधम सुरु भएको छ । कीर्तिपुर, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, शङ्खरापुर, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाभित्र एक/एकवटा सुविधासम्पन्न पार्क बनाउने काम थालिएको छ ।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र समस्या भए पनि छिमेकी नगरपालिकासँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न पार्क निर्माणका लागि रकम उपलब्ध गराएको जानकारी दिए । महानगर प्रमुख शाक्यले भने, ‘हामीले सार्वजनिक जग्गा संरक्षण र हरियाली प्रवद्र्धनको काम गर्दै आएका छौँ । सबै नगरपालिकालाई बराबर रकम दिएका छौँ, कसैलाई पुग्ला कसैलाई नपुग्ला तर भोलिका दिनमा समीक्षा गरेर अगाडि बढ्नेछौँ ।’
उनले नेपालमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । उपत्यकाका विभिन्न ठाउँबाट ती ठाउँ हेर्न आउने छन्, यसले भिजिट नेपाल २०२० लाई पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । महानगरपालिकाको सहयोगमा अन्य नगरपालिकाले भएका खाली जमिनको सदुपयोग गर्दै आन्तरिक तथा बाह्य पर्यटकका सुविधाका लागि पार्क निर्माणको काम अगाडि बढाएका हुन् ।
सो रकम महानगरपालिकाले सबै नगरपालिकालाई प्रदान गरिसकेको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । सोही रकम खर्च गरी सबै नगरपालिकाले आफ्नो क्षेत्रमा खाली रहेका र उपयुक्त स्थान छनोट गरी पार्क निर्माणको अवधारणालाई साकार पार्ने काम सुरु गरेका हुन् । यो समाचार अजाको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस