काठमाडौं । अर्थतन्त्र चलायमान बनाउन भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्लो महिना निकै दौडधूपमा रहे । सचिवालयले अर्थमन्त्रीका गतिविधि प्रचार गर्न पठाएको प्रचारात्मक सामग्रीमा विश्वास गर्ने हो भने ‘महतको एकमात्र अर्जुनदृष्टि भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु’ हो । महतको सचिवालयका अनुसार निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातमालो गरेर देशको अर्थतन्त्रमा थप सुधार ल्याउन मन्त्री डा. महत युद्धस्तरमा लागेका छन् ।
पछिल्लो समय अर्थमन्त्री डा. महतले निजी क्षेत्र, दातृ निकाय तथा वैदेशिक लगानीकर्ता, नियामक निकाय तथा कर्मचारी संयन्त्रसँग निरन्तर छलफल गरिरहेका छन् । मन्त्री महतले गर्ने हरेक भेटघाट सकिएलगत्तै उनको सचिवालयले सञ्चारमाध्यमहरूमा विज्ञप्ति पठाउँछ । हरेक विज्ञप्तिको भाखा एउटै हुन्छ : ‘नेपालको विकास, आर्थिक सहायता वृद्धि र अर्थतन्त्र सुधारका लागि छलफल भयो ।’
मन्त्री महतले आइतबार दुई समूहसँग गरेका भेटघाटलाई पनि ‘अर्थतन्त्रप्रतिको चिन्ता’का रूपमा प्रचार गराउन कुनै कसर बाँकी राखेनन् । डा. महतले आइतबार व्यवसायिक क्षेत्रका छाता संस्थाहरूका प्रतिनिधि र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग भेटघाट गरेका थिए ।
बैंकका सीईओहरूसँग उनले बैंकिङ प्रणालीमा हाल देखिएको समस्या तथा तरलता पर्याप्त हुँदा पनि कर्जा माग नबढ्नुको कारण सोधे । यो प्रश्न सोध्नुअघि उनले केन्द्रीय बैंकका गभर्नरसहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।
सोमबार पहिलो प्रहरमै उनको सचिवालयले ‘अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. महतको दौडधुप’ शीर्षकको सामग्री पठायो । समालोचनात्मक चेत नराख्ने धेरै मिडियाहरूले सो सामग्री हु-बहू प्रकाशन गरिसकेका छन् । कांग्रेस पार्टी र नेता महतनिकट अनलाइनहरूको हालत पनि उस्तै छ । जे जसो भए पनि, महतले मन्त्रीका हैसियतमा सरोकारवाला निकायहरूसँग गरिरहेको स्वाभाविक भेटघाटलाई सार्वजनिक खपतको विषय बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।
‘सर्सती हेर्दा त अर्थमन्त्रीले अर्थतन्त्रबारे नै चिन्ता राखेजस्तो देखियो । तर, तरलता र कर्जा त बजार तथा मौद्रिक नीतिका व्यवस्थाले निर्धारण गर्छ । पहिले व्यापारीलाई भेटेर उनीहरूले नै तयार गरिदिएको प्रश्न बैंकरलाई सोध्दा अर्थमन्त्रीले आफ्नो योग्यता बिर्सिए झैं हामीलाई लागेको छ,‘ अर्थमन्त्रीलाई भेटेका एक बैंकरले भने, ‘वित्त र मौद्रिक नीति कार्यान्वयनमा मन्त्रालय र केन्द्रीय बैंकले ध्यान दिनुपर्ने हो । लगानीको वातावरण सरकारले नै बनाउने हो । बैंकरहरूलाई कर्जा किन गएन भनी अर्थमन्त्रीले प्रश्न गर्नु व्यवसायीलाई खुशी बनाउन लोकरिझ्याइँ गरेजस्तो पो सुनियो ।’
ती बैंकरका अनुसार बैंकबाट लिएको ऋण तिर्न अझै आनाकानी गरिरहेका र सकेजति थप सुविधा लिन खोजिरहेका व्यापारीहरूले अहिले केन्द्रीय बैंक र अर्थमन्त्रीबाटै बैंकहरूलाई दबाब दिन लगाएका हुन् । अर्थमन्त्रीले व्यापारीको गुनासोको भारी आफैंले बोकेर बैंकरसामू बिसाउनु आफूहरूलाई अशोभनीय लागेको अर्का बैंकरले बताए ।
अर्थमन्त्रीकै कुरा पत्याउने हो भने चाहिँ उनले वाणिज्य बैंकका सीईओहरूलाई अर्थ मन्त्रालयमै छलफलमा बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारणबारे जानकारी लिएका हुन् । अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले के सहयोग गर्नुपर्ने हो भनी आफूले जिज्ञासा राखेको डा. महतले सचिवालयमार्फत दाबी गरेका छन् ।
निर्देशन दिँदै देशदौडाहामा
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिएको झण्डै एक क्विन्टल (१०० किलो) सुन राजस्व अनुसन्धान विभागले गत साउन २ गते बरामद गर्यो । सो सुन बरामद गरेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा एक पछि अर्का सरकारी अधिकारीहरू निर्देशन दिन र अनुगमन गर्न भन्दै पुगे । उनीहरू पुगेका खबर मिडियाहरूले प्राथमिकतासाथ प्रकाशन गरे ।
लगत्तै, अर्थमन्त्री डा. महत पनि देशदौडाहामा निस्के । भन्सार विभागदेखि भन्सार कार्यालयका कर्मचारीहरूलाई निर्देशन दिँदै हिँडे । राजस्व संकलनमा तदारुकता देखाउनुपर्ने देखि भन्सार तथा राजस्वका कर्मचारीले इमानको ख्याल राख्नुपर्ने सम्मका कुरा सम्झाए । तत्ततत्त निकायमा देखिएका समस्या तत्कालै समाधान गर्न पनि निर्देशन दिए । डा. महतले गरिरहेका अनुगमन र दिएका निर्देशनबारे समाचारको खाकामा प्रचार सामग्री पठाउन उनको सचिवालयले कुनै कसर बाँकी राखेन पनि ।
हिजो (आइतबार) पनि मन्त्री महतले भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन कार्यशालामा कर्मचारीलाई निर्देशन र स्कूलिङ एकैसाथ दिए । कर्मचारीले सोचमा परिवर्तन गर्न ढिलो गर्न नहुने बताउँदै उनले जिम्मेवारीमा सम्झौता नगरी काममा व्यवसायिकता, सम्मान र समर्पण हुनुपर्ने उल्लेख गरे ।
सचिवालयका अनुसार मन्त्री डा. महतको व्यस्तता विहानदेखि राति अबेरसम्म हुने गरेको छ । ‘कसरी देशको अर्थतन्त्रलाई लयमा ल्याउने, वैदेशिक लगानी कसरी भित्र्याउने, निजी क्षेत्रको लगानी कसरी वृद्धि गर्ने र राजश्व संकलनमा कसरी लक्ष्य भेट्टाउने योजनाको कार्यान्वयमा उहाँको व्यस्तता रहेको छ,’ डा. महतको सचिवालय लेख्छ, ‘गत शुक्रबार मन्त्री डा. महतले अमेरिकी सहयोग नियोग (युएसआईडी) बाट सञ्चालित आयोजनाको प्रगति समीक्षामा घनीभूत छलफल गर्नुभएको थियो ।’
प्रतिक्रिया दिनुहोस