काठमाडौं । सोमबार बेलुकीसम्म अर्थतन्त्र सुधार, व्यवसायीको हकहित र आर्थिक समृद्धि निम्ति निजी क्षेत्रसँग निरन्तर छलफल गरिरहेको बताएका अर्थमन्त्री डा. प्रकाशशरण महत मंगलबार बिहान निजी क्षेत्रप्रति नै क्रुद्ध बने । उनले निजी क्षेत्रले कर तिर्न आनाकानी गरेको, कर नै नतिरेको र अर्थतन्त्रबारे नकारात्मक हल्ला फैलाएको आशयको अभिव्यक्ति दिए ।
आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा निजी क्षेत्रप्रति अर्थमन्त्री जङ्गिनुको कारण हो: नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रबारे दिएको अभिव्यक्ति । गोष्ठीमा अर्थमन्त्री भन्दा पहिले बोलेका श्रेष्ठले यतिखेर देशको अर्थतन्त्र हिलोमा फसेको, अर्थमन्त्रीले निजी क्षेत्रमैत्री बजेट नल्याएकोदेखि बजेटमा राखिएको राजस्व संकलन लक्ष्य पूरा नहुनेसम्म बताए ।
श्रेष्ठको यो अभिव्यक्ति गत आर्थिक वर्षको बजेट कार्यान्वयनमा विफलता भोगेका अर्थमन्त्री महतका लागि ‘दाँतमा ढुङ्गो’ जस्तै भैदिएको बुझिन्थ्यो । निजी क्षेत्रका प्रतिनिधि र सरकारी निकायका अधिकारीहरू र अर्थमन्त्रीका सल्लाहकारले बोल्ने क्रम सकिएपछि पोडियम सम्हालेका अर्थमन्त्रीले निकै आक्रोशित मुद्रामा प्रतिवाद गरेका थिए ।
यसो भनेका थिए श्रेष्ठले
एफएनसीसीआइका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रको गाडी हिलोमा फसेको कारण त्यसलाई धकेलेर मात्रै नहुने बताएका थिए । श्रेष्ठले भनेका थिए, ‘अर्थतन्त्रको गाडी हिलोमा फसेको छ । त्यसलाई धकेल्ने मात्र होइन उठाएर लैजानुपर्छ । अहिलेको समयमा अर्थतन्त्रलाई जोगाउन व्यवसायीहरूको मनोबल बढाउनुपर्छ । यसमा अर्थमन्त्रीले ध्यान दिनुपर्छ ।’
त्यस्तै, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्र झन्झन् गम्भीर मोडमा रहेको बताए । उनले थपे, ‘हामी सबैलाई थाहा नै छ, हामी निजी क्षेत्रले अर्थतन्त्र गम्भीर मोडमा रहेको छ भनिरहेका छौँ । तर, राज्यले केही समस्या छैन भनिरहेको छ । अर्थतन्त्र झन्झन् गम्भीर मोडमा पुगेको छ । यसमा एकदमै मनन गर्नुपर्ने परिस्थिति छ ।’
अब व्यापार व्यवसाय कुन गतिमा अगाडी बढ्छ भन्ने कुरा सबै व्यवसायीहरूले आभास पाइसकेको बताउँदै उनले भने, ‘सबैभन्दा बढी व्यापार दसैँ तिहारमा हुन्छ । तर, यस वर्षको दसैँ तिहारमा व्यापार बढेर जाने छैन । यसअघिका समयमा यो बेला हामीले दर्शै तिहारको लागि आवश्यक पर्ने सामानहरू ल्याउने तयारी सुरु गरिसकेका हुन्थ्यौँ । यसपालि त्यो गरिएको छैन ।’
राजस्व सङ्कलनको लक्ष्य पुरा गर्न चुनौतीपूर्ण रहेको उनले बताए । ‘मुलुकमा उद्योग व्यापार बढेको छैन । हाम्रो मुलुकले बर्सेनि राजस्व वृद्धि गर्दै लगिरहेको छ । तर, यसरी नै बढाउँदै लैजाने हो भने धान्न सक्ने स्थिति हुन्छ कि हुँदैन ?’, उपाध्यक्ष श्रेष्ठले प्रश्न गरे ।
बजेटमा धेरै अपेक्षा गरिएको र अर्थमन्त्रीलाई भेटेर बारम्बार भन्दा समेत निजी क्षेत्रको गुनासो सम्बोधन नगरिएको उनले गुनासो गरे । ‘एफपीओ, मर्जर धितोपत्र र जग्गाको विषयमा रेट्रोपेटिक्स करको कुरा छ । यसले व्यवसायीमा एक किसिमको कन्फिडेन्स लुज गरेको छ’, उनले भने, ‘विलासी करहरूले गर्दा नेपालको पर्यटन क्षेत्रमा असर परेको छ । व्यवसायीको विषयमा अर्थमन्त्रीले ध्यान दिनुपर्छ ।’
करको दरभन्दा पनि दायरा बढाउन सुझाव
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले करको दर भन्दा पनि दायरा बढाउन सुझाव दिए । उनले भने, ‘करको दर भन्दा दायरा बढाउनुपर्छ । हाम्रो मुलुकमा रहेका करदाताहरू थप वृद्धि गर्नुपर्छ । नागरिकतासँगै प्यान अनिवार्य बनाउनुपर्छ ।’
खुद्रा व्यापारीहरूलाई पनि अडिट गर्नु नपर्ने गरी कर तिर्ने वातावरण बनाउन उनले माग गरे । साथै, वान डोर सिस्टममा कर तिर्ने प्रणाली बनाउनुपर्ने उनले बताएका थिए ।
निजी क्षेत्रका प्रतिनिधिहरूले अर्थतन्त्र खराब रहेको बताउँदै सरकारले आर्थिक लक्ष्य पूरा गर्न नसक्ने र आफूहरूको विभिन्न माग सम्बोधन गर्नुपर्ने बताएपछि नै अर्थमन्त्री डा. महत क्रुद्ध बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस